प्रधानमन्त्रीले हलुका अभिव्यक्तिको गम्भीर अर्थ हुन सक्छ भन्ने हेक्का राख्नु पर्थियोः विश्वप्रकाश शर्मा
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को गल्ती भएको बताएका छन्।
‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो।’ यस विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी अन्य दलहरूले प्रश्न उठाउनु स्वभाविक भएको शर्मा बताउँछन्। ‘प्रश्न हामी नै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्य नै हो,’ उनले भनेका छन्, ‘आलोच्य अभिव्यक्तिको आलोचना जरूरी छ।’
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली पुगेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरूद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए। संसद नचल्दा मिटरव्याज पीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदका दुवै सदनबाट ६० दिनभित्र पारित हुनुपर्ने थियो तर पारित हुन नसकेपछि निष्क्रिय भएको छ।