आत्मविश्वासको फल
काठमाडौं— सभ्यताको आश्चर्यजनक विकासको इतिहास अनगिन्ती ज्ञात–अज्ञात प्रयत्नको फल हो । जसले विविध संघर्ष पार गर्दै मानिसलाई पाषाण युगबाट रकेट युगसम्म ल्यायो । यी कर्मठ मानिसले उठाएको कष्ट तपाईले कल्पना गर्न सक्नुहुन्छ? यदि यी कर्मठ मानिसले आफ्नो निश्चित साधनामा नलागेको भए के आज मानिसको यो रूप हुन्थ्यो?
सभ्यताको यी सारथी आफ्नो धुनमा पक्का थिए । उनमा अदम्य इच्छाशक्ति थियो । यिनले प्रत्येक कठिनाईमा विजय प्राप्त गरी मानिसलाई सुखी बनाउने साधन खोजिरहे । सफलता घरमा बसेर प्राप्त हुँदैन । सफलता प्राप्त गर्न पहिले दृढ आत्मविश्वास आवश्यक छ । आत्मविश्वासको अभावमा तपाई सफलताको लाभ हासिल गर्न सक्नुहुन्न । के कुरा ध्यानमा राख्न आवश्यक छ भने चोरी गरिएको धन पाउन सकिन्छ, कठिनकठिन रोगको उपचार सम्भव छ तर यदि आत्मविश्वास गुम्यो भने त्यो पाउन कठिन छ । आत्मविश्वास सफलताको एक सबैभन्दा ठूलो शक्ति हो । खराब मानिसबाट बच्नुहोस् । आफ्नो काममा लागिरहनुहोस् ।
संसार आफै बद्लदैन । संसारलाई बदल्नुपर्छ । जब तपाई संसारलाई बदल्ने कोशिश गर्नुहुन्छ, तब यो बदलन्छ । संसारमा मानिसले गर्न नसक्ने कार्य केही पनि छैन । मानिसले सबै गर्न सक्छ । संसारमा कुनै यस्तो ऐश्वर्य छैन, कुरा मानिसले प्राप्त गर्न सक्दैन । यदि ऊसित आत्मविश्वास छ, दृढ सङ्कल्प छ भने उसले सबै कुरा गर्न सक्छ । साहस र संकल्पले के हुन सक्दैन । एक पटक नेपोलियनकहाँ तेज गतिले घोडामा चढेर एक सैनिक संदेश लिएर आयो । नेपोलियनको सामुन्ने आइपुग्ने वित्तिकै घोडा म¥यो । तर त्यो सैनिकले अनिश्चित भावले नेपोलियनको हातमा सन्देश राखिदियो । नेपोलियनले पनि तुरून्त सन्देशको जवाफ लेखे । उनले भने: अहिल्यै लिएर जाऊ ।
सिपाहीले आज्ञा पालन गर्यो ।
ऊ मोडियो । उसले मेरो घोडालाई एक क्षण हे¥यो । पुनः अगाडि बढ्यो ।
सुन ।- नेपोलियनले भने ।
ऊ रोकियो ।
तिमीले मेरो घोडा लिएर जाऊ । नेपोलियनले भने ।
सैनिक अकमक्क भयो । नेपोलियनको घोडा फ्रान्सको सर्वश्रेष्ठ घोडा थियो ।
उसले हडबडाएर भन्यो: तपाई के भनिरहनुभएको छ ।
तिमी मेरो घोडा लिएर जाऊ ।
सैनिक नेपोलियनकै घोडामा सवार भयो । जब ऊ फर्किएर आयो तब उसलाई नेपोलियनले क्याप्टेन नियुक्त गरे । मानिसलाई आफ्नो कर्मठताको पुरस्कार यसै प्रकारले प्राप्त हुन्छ । घोडा लडेर मर्यो तर त्यो घोडसवार अलिकति पनि विचलित भएन । उसले सबैभन्दा पहिले नेपोलियनलाई पत्र दियो । यो उसको कर्मठताको प्रमाण थियो । जबसम्म तपाई एकाग्र मनले यसै प्रकार कर्मठ रहनुहुन्छ, तबसम्म तपाईलाई सफलता मिल्न कठिन हुँदैन । सर्वप्रथम तपाई आत्मविश्वासी हुन जरूरी छ ।
मानिसको जीवनमा घट्ने घटनालाई भाग्यको प्रतीक मानेर हामी आफ्नो सफलताको बाटो आफै बन्द गर्दछौं । जीवनमा घट्ने कुनै पनि घटनाको भाग्यसित कुनै सम्बन्ध हुँदैन । घटना भइरहन्छ । तर यी घटनाको प्रभावमा आएर आफ्नो आत्मविश्वास गुमाउनु हुँदैन । तपाई आफै भाग्यको स्वरूप निर्धारण गर्नुहुन्छ । यदि हामीमा आत्मविश्वास छ भने हामी सारथि समान हुन्छौं । जसको रथको घोडामा नियन्त्रण हुन्छ । आत्मविश्वासको कारणले हामी आफ्नो तमाम शक्तिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छौं । आत्मविश्वासले मात्र तपाईको जीवन बदल्न सक्छ । तपाईले सबै कुरा पाउन सक्नुहुन्छ । विश्वको इतिहासमा यसको प्रमाणले भरिएको पाइन्छ। आत्मविश्वासले मानिसलाई सफलताको उच्चतम् श्रेणीमा लैजान्छ ।
आफ्नो काम छनोट गर्नुहोस् । काम छनोट गर्नु सबैभन्दा पहिलो र जरूरी कुरा हो । काम छनोट गरेपछि परिस्थिति, समस्या, असल खराबको विश्लेषण गर्नुहोस् । कुनै कार्यको लक्ष्य बनाउने समयमा केही समस्या आउन सक्दछ । तपाईले यसको समाधान पनि गर्न सक्नुहुन्छ । कार्यको निश्चय गरेपछि कम्मर कसेर काममा जुट्नुहोस् । कुनै पनि शक्तिले तपाईको लक्ष्य बदल्नको लागि विवश गर्न सक्दैन । किनकि तपाईमा लक्ष्यप्रति दृढ विश्वास छ । तपाईमा आत्मविश्वास छ । यो निश्चयले तपाईलाई एक अपूर्व शक्ति दिनेछ । स्मरण राख्नुहोस्, आत्मविश्वास मनको सेनापति हो । सेनापति जब उत्साहले भरिन्छ तब उसको सेनाको संचालन पनि तीब्र गतिले हुन्छ । बाधाले पराजित स्वीकार गर्छ । साहसले हाम्रो शक्तिलाई संचालित गर्छ । धेरैजसो मानिस असफल हुनुको कारण के हो भने उसले आफ्नो सारा क्षमतालाई उपयोग गर्न सक्दैन । उसमा पूर्ण आत्मविश्वास हुँदैन । उसको मनमा कहीं न कहीं कुनै शंका अवश्य रहेको हुन्छ ।
आफ्नो क्षमतामा विश्वास हुने मानिसले प्रत्येक संकट र अभावको सामना गर्न सक्दछ । हाम्रो आफ्नो मन हाम्रो क्षमताको मानदण्ड हो । यदि मन नै दुर्बल छ भने हाम्रो क्षमता पनि दुर्बल हुन्छ । निभेको बत्तीले अध्यारोमा कसरी बाटो देखाउन सक्छ रु डर तथा शंकालाई मनबाट निकाल्नुपर्छ । हाम्रो सामुन्ने हाम्रो लक्ष्य स्पष्ट हुनुपर्छ । विश्वास दृढ हुनुपर्छ । हाम्रो विचार नै हाम्रो व्यक्तित्वको अंश हो । यदि हाम्रो विचार गहिराईबाट निक्लिएन भने हाम्रो व्यक्तित्वले प्रेरणा प्राप्त गर्न सक्दैन ।आज संसारको तमाम महत्वपूर्ण उपलब्धि हिजोसम्म असम्भवको समान थियो । हवाईजहाज निमार्ण गर्न जेपलीनलाई सारा मानिसले पागल भन्थे । उनलाई देखेर बच्चाले समेत खिल्ली उडाउँथे । तर जब जेपलीन ब्रदर्स उडे तब संसार चकित भयो । अब त आकाशमा उड्ने कुरा सामान्य भइसकेको छ । मानिसले चन्द्रमामा पाइला टेकिसकेका छन् ।
बसेर हेर्नाले केही काम बन्दैन । संसारको समस्त कर्मठ मानिसको सफलता बसी-बसी प्राप्त भएन । ती आफ्नो काममा निरन्तर लागिरहे । तिनले धेरै कष्टको सामना गनुप–यो । क्रमबद्ध प्रयत्नले नै सफलताको नजिक पुग्न सकिन्छ । जब कुनै वस्तुलाई हासिल गर्ने अदम्य आकांक्षा हुन्छ, तब त्यसलाई प्राप्त गर्नको लागि क्रमबद्ध योजना बनाएर घगाडि बढ्नुपर्छ । खानीबाट फलाम निकाल्नु मात्र पर्याप्त हुँदैन । त्यसलाई पगाल्नुपर्छ । यसैप्रकार परिश्रम गर्नाले सफलता हासिल गर्न सकिन्छ ।
केही मानिस बुद्धिमान भएर पनि सफल हुँदैनन् । तीसित भेटेर ती किन सफल भएनन् भन्ने लाग्छ । आखिर किन? तपाईले तिनमा कार्यशक्तिको अभाव पाउनुहुन्छ । यसप्रकार सफलता प्राप्त गर्न तिनलाई कठिन हुन्छ । कार्यशक्तिको उचित उपयोगले नै मानिसलाई त्यसको फल प्राप्त हुन्छ कार्यशक्तिको आफ्नो महत्व छ । कार्यशक्तिले मानिसलाई अदम्य साहस दिन्छ । आफ्नो मनमा कहिल्यै पनि अनिश्चय नराख्नुहोस् । अनिश्चयले सधै शक्तिलाई एकत्रित हुन दिदैन । यसैकारण तपाई आफ्नो कार्य गर्न सक्नुहुन्न । योजना, निर्णय, शक्ति, सत्ताको उपयोग केवल निश्चयको आधारमा गर्न सकिन्छ । निश्चयले मानिसको सुतेको विश्वास जगाइदिन्छ । निश्चयको स्पर्शले प्रतिभा फस्टाउँछ । मानिसको रूप-रङ्गमा निखारता आउँछ । तब मानिस ठूला-ठूला स्थितिको सामना गर्न सक्षम हुन्छ । यसै निश्चयले कोलम्बसले अथाह सागर पार गर्न सफल भए । यसै निश्चयले एडमण्ड हिलारी र तेन्जिङ्ग नोर्गेले माउण्ट एभरेष्ट चढन सफल भए । तपाई आफ्नो निश्चय निर्णय गर्नुहोस् । त्यसमा लाग्नुहोस् । सफलता तपाईको नजिक अवश्य पनि आउँछ ।
जब हाम्रो निश्चय कमजोर बन्छ तब हीन भावनाले जन्म लिन्छ । यसो गर्नाले सफलता हामीबाट कोसौं टाढा जान्छ । तपाई निश्चय गरिसकेपछि त्यसमा अडिग रहनुहोस् । तपाईको निश्चयको परीक्षा लिन एक से एक अवरोध तपाईको सामुन्ने देखा पर्नेछ । डिजरायलीको भनाई छ-सफलता प्राप्त गर्नु एक अर्को जीवन प्राप्त गर्नु हो । सफलताले धेरै बलिदान माग्दछ । निच्चय सुदृढ भयो भने सफलता पनि निश्चित हुन्छ । कुनै काम तब आरम्भ गर्न सकिन्छ, जब गर्नेलाई त्यस काम पूरा गर्ने विश्वास हुन्छ । दृढ निश्चयी मानिसको मनमा महान् लक्ष्य प्राप्त गर्ने प्रेरणा उत्पन्न हुन्छ । आत्मविश्वासविना कुनै पनि मानिस अघि वढ्न सक्दैन । जीवनको समस्त उपलब्धि या सफलताको उद्गम निश्चय इच्छा शक्तिले हुन्छ । अङ्ग्रेजीमा भनाई छ- where there is will there is way। अर्थात् जहाँ इच्छा त्यहाँ उपाय । सफलता हासिल गर्ने मानिससित सोध्नुभयो भने तिनले एउटै कुरा के बताउँछन् भने तिनको त्यो सफलतामा प्रयत्न उत्तरदायी थियो । ती समग्र रूपले कार्यप्रति समर्पित रहेका थिए । अनिच्छुक कामले दालभातको समस्या त टछ, तर सफलता या इच्छापूर्ति हुन कठिन छ । आफ्नो शक्तिको सही मूल्यांकन गरी वातावरणलाई आफ्नो अनुकूल ढाल्ने कलाको प्रथम चरण आत्मविश्वाको कक्षामा मिल्दछ ।
आफूमा विश्वास राख्नुहोस् । आफ्नो शक्तिमा विश्वास राख्नुहोस् । स्मरण रहोस् । तपाईभित्र त्यो शक्ति छ जसलाई एक पटक जगाउनाले तपाईलाई ईमानदार, मिहिनेती, सफल र सुसंस्कृत बनाईदिन्छ ।
तपाईको आफ्नो जीवन कल्याणमय हुन सक्दछ, जब तपाई आफूमा आत्मविश्वास जगाउनुहुन्छ । विश्वमा सफलताको यस्ता अनेकन् उदाहरण छन् जसले कठिन परिस्थितिको बाबजुद आफ्नो लक्ष्य प्राप्त गर्न सकेका छन् । आफ्नो जीवन सफल बनाएका छन् । तपाईभित्र धेरै शक्ति छ । तपाई आफ्नो लक्ष्य बनाउनुहोस् । यसपछि उक्त लक्ष्य हासिल गर्न काममा जुटनुहोस् । कुनै कुराको अभाव महसुस नगर्नुहोस् । तब हेर्नुहोस् सफलता तपाई तर्फ कसरी आउँदैन? केही समयपछि तपाईमा एक परिवर्तन पाउनुहुनेछ । उठ्नुहोस् । व्युझनुहोस् । सफलता तपाईतर्फ आइरहेको छ । त्यसलाई स्वागत गर्न तयार रहनुहोस् ।