कांग्रेस संसदीय दलको नेता जसरी पनि बदल्छु : गगन थापा

शनिबार, २३ असार २०८०

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए।

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए।

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ,’ उनले भने, ‘यो नभए यो भुतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ।’

आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए। उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताए।

‘प्रधानमन्त्री बन्नेकुरा भुतपूर्व क्लबकै हुने जस्तो भयो। नेपालका राजनीतिक पार्टीहरु यस्ता भए। नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा ९माओवादी केन्द्र०ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो,’ थापाले भने, ‘हामी कांग्रेसमा छौँ, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ। त्यही कुरा गर्ने कोशिस गरेको हो। म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु।’

उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने पनि बताए।