विष्णुहरी प्यानलबाट सचिवमा फिलिप डिसीको उम्मेदवारी
काठमाडौं – राइटपाथ करिअर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले विष्णुहरी पाण्डे प्यानलबाट सचिवको उम्मेदवार बन्ने भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी असार ३० गते हुने निर्वाचनमा डिसी सचिव पदका लागि पाण्डे प्यानलबाट उम्मेदवार बन्ने भएका हुन् ।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा रहेका काम गरिरहेका डिसीले यसअघि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । प्यानल मिलाउन खोज्दा डिसी सचिव पदका लागि उम्मेदवार बन्न तयार भएका हुन् । डिसीले सचिवका लागि उम्मेदवारी घोषणा गर्दै इक्यानको कार्यसमितिमा नहुँदा पनि व्यवसायीको हकहितका लागि लडिरहेको भन्दै त्यसलाई गुणात्मकता दिन आफू इक्यानमा आउन लागेको बताए ।
‘म सधैं हाम्रो शैक्षिक परामर्श क्षेत्रलाई समर्थन गर्न सक्रिय रूपमा संलग्न छु।’, मोटिभेट न्यूजडटकमसँगको कुराकानीमा इक्यानको कार्यसमिति बाहिर रहेर पनि आफूले गरेका कामहरुको बारेमा वर्णन गर्दै उनले भने, ‘परामर्श क्षेत्रमा वैदेशिक लगानीका मामिलाहरूमा लड्न, एनओसीका समस्याहरू समाधान गर्न, परामर्श क्षेत्र र विश्वविद्यालयहरू/कलेजहरू बीचको सहकार्यलाई बढावा दिन, अनैतिक व्यापारिक अभ्यासहरू विरुद्ध लड्न, सरकारले ल्याएका गलत नीतिका विरुद्ध वकालत गर्न मैले अथक मिहिनेत गरेको छु ।’
उनले परामर्श क्षेत्रमा धेरै समस्या र चुनौति रहेको भन्दै यस्ता समस्याहरुको समाधान गर्न र चुनौतिहरुसँग जुध्न आफूले उम्मेदवारी दिने बताए । ‘हाम्रो उद्योगले अहिले गम्भीर समस्याहरु झेलिरहेको छ, चुनौतिहरूको सामना गरिरहेको छ ।’, उनले भने, ‘यी समस्याहरुको समाधान गर्न मैले सचिवमा उम्मेदवारी दिएको छु । सरकारले यो क्षेत्रलाई हेर्न नजरिया ठिक छैन, नियमावलीमार्फत धरौटीको व्यवस्था गर्न थालिएको छ, एनओसीको समस्या जस्ताको तस्तै छ । यी सबै समस्याहरुको समाधान हामीले गर्नसक्छौं । म त्यसको पहकदमी लिन सक्छु । विष्णुहरी पाण्डे प्यानलले गर्न सक्छ ।’
इक्यानको विद्यान अनुसार सचिवमा दुई जनालाई निर्वाचित गर्न सकिन्छ । पाण्डे प्यानलबाट सचिवमा शिव त्रिपाठीले उम्मेदवारी दिएका छन् भने अर्को प्यानलबाट भवनाथ हुमाईं र रत्न भट्टराईले उम्मेदवारी दिने भएका छन् ।
