दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

मंगलबार, १२ चैत्र २०७५

चैत्र १२, काठमाडाैं – दक्षिणकालीबाट  काठमाडौंको रत्नपार् स्थित  बसपार्क आउंदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ  । आज बिहान ६:३० बजे दक्षिणकाली नगरपालिका वडा नं ४ चाल्नाखेल भन्ने ठाउँमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। 

बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

लगभग ३५ जना सवार रहेको बसमा अधिकांश कलेजका विद्यार्थी रहेका थिए  ।