कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने लिङदेनको घोषण

मंगलबार, १६ साउन २०८०

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मलेर सरकार बनाउन सुझाव पनि दिएका छन् ।

‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं’ उनले भने, ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।

केन्द्रमा बनेको सत्तारुढ गठबन्धन र विपक्षमा रहेको एमालेले सहज रुपमा बहुमत जुटाउन नसक्दा कोशीमा राजनीतिक अस्थिरता कायम छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिँदैछ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । राप्रपाले तत्काल सत्ता गठबन्धनलाई साथ दिन नसकिने प्रष्ट पारेको छ ।

अध्यक्ष लिङ्देनले संविधानको धारा १६८ ९२० अनुसार सरकार बनाउन आफूहरुको समर्थन नहुने बताए । ‘अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको, छ । यो श्रृखला सोही धाराको उपधारा ५ सम्म पुग्ला । त्यहाँसम्म पुग्दा दलहरुले आफैं समाधान निकाल्लान् । त्यससम्म पनि समाधान ननिस्किँदा र हामी नै निर्णायक देखियौं भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौं’ उनले भने ।

संवैधानिक व्यवस्था अनुसार धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्न नसकेमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । उसले पनि विश्वासको मत लिन नसकेमा १६८ (५) अनुसारको सरकार बन्नेछ । जसमा बहुमत पुर्‍याउन सक्ने कुनै प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने व्यवस्था छ ।