गृहमन्त्रीले भने, ‘नागरिकता कुरेर महिनौंसम्म बस्नु पर्ने अवस्थाको छिटै अन्त्य हुन्छ’
काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका छन्।
मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।
‘हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्नु पर्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो।’
नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा नभएको र संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न नसकिने पनि श्रेष्ठले बताए। उनले नेपाली आमाका सन्तानले सहज रुपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताए।