लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाएको रास्वपाको गुनासो
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको गुनासो गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ–आफ्ना कुरा राखेका छन्। रास्वपा सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी कुराहरू राखेका थिए।
रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन प्रकरण छानबिन गरिनुपर्ने विषयमा बोले। उनले धारणा राख्दा अरू सांसदहरूले डायरीमा ढ्यापढ्याप गर्दै समर्थन गरेका थिए।
सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रबारे कुरा राखेकी थिइन् भने शिशिर खनालले आफ्नो निर्वाचन क्षेत्र सामाखुसीको ढल व्यवस्थापनबारे कुरा राखेका थिए। सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रबारे बोलेका थिए। निर्माण व्यवसायीहरूले भुक्तानी नपाएर आन्दोलन गरेका विषयबारे उनले कुरा राखेका छन्।
सांसद सुमना श्रेष्ठले तामाङ समुदायमाथिका अभिव्यक्तिलाई लिएर त्यसैमा राजनीति गर्न खोजिएकोतर्फ ध्यानाकर्षण गराएकी थिइन्। प्रतिनिधि सभा अवरोध भइरहेकोले संसदीय अभ्यास गर्न नपाएको भन्दै रास्वपाले रचनात्मक तरिकाले विरोध गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ। एमालेको नाराबाजी र वेल घेराउपछि बुधबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको थियो।