पूर्व प्रहरी महानिरीक्षक सिंहले दिए सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडौं— पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक अनलाइन सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रोशन बहादुर खड्का सम्पादक रहेका काठमाडौँ पाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
काठमाडौँपाटी अनलाइनमा गत साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै उक्त समाचार भ्रमपूर्ण रहेको र समाचारबाट आफ्नो प्रतिष्ठा र सम्मानमा आँच पुराएको भन्दै कारवाहीका लागि सिंहले माग गरेका छन् ।
उक्त अनलाइनले सुन तस्करीमा संलग्न रहेका भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्व आइजीपीहरु सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहसँग निरन्तर सम्पर्क भएको पाइएको उल्लेख गरेको छ । सिंहले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई ‘भाइ किन फोन उठाएको’ भन्दै बारम्बार म्यासेज पठाएको भन्दै म्यासेजको ब्यहोरासमेत उल्लेख गरी समाचार प्रकाशन गरेको थियो ।