सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी
काठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक चलिरहेको छ। बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन्।
सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले लगातार संसद अवरूद्ध गरिरहेको र ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न सकिने गरी सर्वोच्च अदालतले आदेश दिएको सन्दर्भमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो।
आजै गठबन्धनमा रहेको दल जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रधानमन्त्री दाहालले मन्त्री बनाएका छन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि ९ किलो सुन तस्करी प्रकरणमा मुछिएको विषयमा उनीमाथि छानबिन हुनुपर्ने माग सत्तारूढ गठबन्धनकै सांसदहरूले राखिरहेका छन्।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पक्राउ गरेपछि कांग्रेसका केही सांसदहरूले सरकारले आफ्ना नेताहरूलाई निशाना बनाएको बताएका थिए। शीर्ष नेताहरूको बैठकमा यीलगायत विषयमा छलफल हुने बताइएको छ।