केशव स्थापितले लिए एमालेको केन्द्रीय कमिटीबाट बिदा
काठमाडौं— गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्।
राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाएका स्थापित नेकपा (एमाले) फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय बसेका छन्। एमालेको सोमबार बसेको सचिवालय बैठकले उनीसहित सिराहका प्रदोदनारायण यादवलाई बिदा दिने निर्णय गरेको छ।
उनले पार्टीबाट बिदा लिएको कुरा स्वीकार गर्न आनाकानी गरिरहेका थिए। ‘कसले भन्छ मलाई समेत थाहा नभएको कुरा,’ उनले अस्वीकार गर्दै भने। तर पार्टीका नेताहरूले नै जानकारी गराएको भनेपछि ‘यो त मैले पो भन्नुपर्थ्यो’ भन्दै कारण बताउन थाले।
पार्टीको सक्रिय राजनीतिलाई केही समयका लागि बिसाएर अध्ययन र थाती रहेका केही काम गर्ने योजना रहेको बताए। ‘म केही समय अनुसन्धानमा सक्रिय हुन्छु, राजनीतिमा सक्रिय हुनुपर्दा त्यो पाटो छुटेको छ,’ उनले भने। लामो समय एमालेकै राजनीति गरे पनि बीच-बीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए। उनी पछिल्लो पटक एमालेमा जोडिएको ८ वर्ष भएको थियो।
तपाईंले एमाले छाड्न लाग्नु भएको हो भनेर हामीले उनलाई पुनः सोध्यौं। तर उनले जीवन नै एमालेमा व्यतीत भएकाले यसबारे आफूले नसोचेको बताए। ‘मैले भनें नि, अध्ययन, अनुसन्धानमा सक्रिय हुन्छु। केन्द्रीय कमिटीबाट पो बिदा लिने भनेको त, पार्टीबाट होइन नि!,’ उनले भने। उनले जीवनमा नयाँ-नयाँ काम गर्नुपर्ने भन्दै अहिले यसैका लागि केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको बताए। ‘जीवनमा नयाँ-नयाँ काम गर्नुपर्छ। यो त्यसैको सिलसिला हो,’ उनले भने।