धरानका मेयर हर्कले श्रमदानको नाममा श्रम शोषण गरेको पूर्व उपमेयर मन्जुको आरोप
काठमाडौं— धरान उपमहानगरको पूर्व उपमेयर मन्जु भण्डारीले वर्तमान मेयर हर्क साम्पाङले श्रमदानको नाममा श्रम शोषण गरिरहेको आरोप लगाएकी छिन् ।
भण्डारीले भनिन्, ‘खानेपानी बोर्डको पैसा पनि लगानी भएको छ । आजको दुनियाँमा श्रमदानको नाममा श्रमशोषण गर्ने कहिलेसम्म? जनताको लागत त छ । श्रमदानको कामको बिलमा ज्याला भनेर किन लेखियो? हिजो पनि धराने जनताको लगानी भएको थियो । तर, सात करोड खर्च गरेर सात लाख लिटर पानी आउनु कुन ठूलो कुरा भयो?’
सात करोड खर्च गरेर सात लाख लिटर पानी ल्याउनुभन्दा उक्त रकमले बोरिङ मात्रै गरेको भए २० लाख लिटरको सातवटा बोरिङ हुने भण्डारीको भनाइ छ । उनका अनुसार सातवटा बोरिङबाट एक लाख ४० लाख लिटर पानी आउने र त्यसले धराने जनताको पानी दुःख निरुपण गर्न सक्थ्यो । तर, साम्पाङले खर्च मात्रै बढी गरेको उनको अरोप छ ।
साथै अहिले धरानमा ल्याइएको पानी पनि शुद्ध नभएको भण्डारीको दाबी छ । उनले भनिन्, ‘धरानमा आएको पानी आफैंमा शुद्ध पनि छैन । फिल्टर ट्यांकमा हालिएको छैन । जोखिम पनि धेरै छ । यो बर्खामा कति ठाउँमा रुखको फेदमा अड्काउँदै ल्याइएको छ । पहिरो गयो वा रुख ढल्यो भने समस्या आउँछ । हिउँदमा डढेलो लाग्यो भने अर्को समस्या आउँछ । जोखिम नै जोखिम छ । हामीले लगानी गर्दा दीर्घकालीन विकास हुने गरी, भविष्यमा काम लाग्ने गरी गर्नुपर्छ ।