उपत्यका र पश्चिम ताम्सालिङ मिलेर एमसीसीलाई धुलो चटाउनुपर्छ: आजाद सी

शनिबार, ३० भाद्र २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज आजाद सीले नेपालबाट एमसीसीलाई धुलो चटाएर विदाई गर्नुपर्ने बताएका छन् ।

नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्दै आजादले एमसीसी प्रभावित क्षेत्र उपत्यका व्युरो र पश्चिम ताम्सालिङ व्युरो मिलेर धुलो चटाउनु पर्ने बताएका हुन् ।

उनले पार्टी आफ्नो व्युरो संयुक्त रुपमा संघर्ष गर्न तयार रहेको बताउँदै त्यसका लागि उपत्यका व्युरो पनि तयार हुनुपर्नेमा जोड दिए । ‘हाम्रो पार्टी केन्द्रको नीति बाहेक व्युरोहरुले मिलेर संघर्ष गरेको पाइदैन ।

अव हामीले नयाँ विषयमा सोच्नुपर्छ ।’, उनले भने, ‘त्यसका लागि एमसीसीले एउटा अवसर जुराइदिएको छ । उपत्यका व्युरो लब्सिफेदीमा एमसीसीले टावर बनाउँदैछ, हाम्रो व्युरोको रातामाटेमा । हामीले संयुक्त रुपमा संघषए गरेर यी दुबै ठाउँबाट एमसीसीलाई लखेट्नुपर्छ ।’

उनले अमेरिकालाई नेपालमा बुट बजार्न दिन नहुने भन्दै त्यसका लागि ठोस ठोस कार्यक्रम गरेर यसका विरुद्धमा लड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, शुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।