६० किलो बढी सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्दै
काठमाडौं – ६० किलो बढी सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ताको तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको हो।
उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिबेदन बुझाएको थियो। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक प्याडको अवस्थामा भित्रिएर भन्सार पास भइसकेको अवस्थामा सुन बरामद भएको थियो।
उक्त तस्करी प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको थियो। सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो।
हाल प्रहरी हिरासतमा रहेकामध्ये ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्। ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, १ जना ट्याक्सी चालक, १ जना भाषा अनुवादक, २ जना कम्पनी सञ्चालक, २ जना कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।