कसैको पनि विलक्षणतामा भर पर्नु मार्क्सवाद नै होइन : राम कार्की
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले मार्क्सवाद एक प्रकारको विज्ञान भएकाले यसलाई निरन्तर परिमार्जन गरिरहनुपर्नेमा जोड दिएका छन् । मार्क्सवादलाई निरन्तर विचारमा विकास गरिरहनु पर्ने तर्क गर्दै विज्ञान र जीवनका अरु क्षेत्रमा भएका खोज र ज्ञानलाई पनि मार्क्सवादले आफूमा समाहित गर्नुपर्नेमा उनको जोड छ । मोटिभेट न्यूज डटकमसँगको कुराकानीमा कार्कीले कम्युनिस्टहरुले परिस्थिति अनुसार विचारमा विकास गर्न नसक्दा विश्वका विभिन्न मुलुकमा कम्युनिस्टहरु सकिएको बताए । पत्रकार शेरबहादुर विश्वकर्मासँगको अन्तरवार्ताको क्रममा उनले नेपालमा पनि विज्ञानमा भएको विकास अनुसार मार्क्सवादमा पनि विकास अपरिहार्य बनेको तर्क गरेका छन् । यस्तो छ उनीसँगको अन्तरवार्ताको संपादित अंश:
तपाई नेपालको कम्युनिस्ट आन्दोलनको यात्रामा लामो समयदेखी हुनुहुन्छ।अहिले नेपालको क्रान्तिकारी आन्दोलन कुन ठाँउमा छ जस्तो लाग्छ ?
पार्टी भनेको पनि एउटा गतिशिल चिज हो। कहिले यो कमजोर हुन्छ त कहिले यो बलियो हुन्छ तर यसलाई बलियो कस्तो बेलामा भन्ने र कमजोर कस्तो बेलामा भन्ने विषय यसको वैचारिक आधारमा मापन गनुपर्ने हुन्छ। त्यसैले जब पार्टी वैचारिक हिसाबमा बलियो हुन्छ त्यो वेला यसलाई बलियो र वैचारिक हिसाबले कमजोर भएको बेला यसलाई कमजोर छ भनेर बुझ्नुपर्ने हुन्छ। यस हिसाबले भन्नुपर्दा नेपालको इतिहासमा कम्युनिष्ट पार्टी यतिधेरै कमजोर कहिल्यै थिएन,भएन ।
विगतमा कम्युनिष्ट आन्दोलनमा कैयौं पटक फुट, विभाजनहरु नआएका होइनन् तथापी पार्टीका नेताकार्यकर्ताहरुमा एउटा सपना जीवितै थियो । तर अहिले त्यो सपना र आशावादिता निकै कमजोर भएर गएको छ । हाम्रो आन्दोलन असाध्यै अपठ्यारो स्थितीमा छ। यसका पनि दुई ओटा आयामहरु छन्– एउटा राष्ट्रिय र अर्को अन्तराष्ट्रिय आयाम । प्रतिक्रियाका शक्तिहरू जहाँसुकै अगाडी आइरहेका छन् । चाहे टर्की होस् या अमेरिका वा वामपन्थी आन्दोलन शक्तिशाली भएको फिलिपिन्समा पनि । यति सम्म कि प्रजातान्त्रिक समाजवादको कुरा गर्ने नर्डिक कन्ट्रीहरु (नर्वे, स्वीडेन इत्यादि देशहरू) त्यहाँ पनि राष्ट्रवादी वा स्वायत सर्वच्चताको कुरा गर्ने पार्टीहरू जस्तै इटाली र जर्मनमासमेत अगाडि आईरहेका छन् ।
त्यस्तै तेस्रो विश्वका देशहरू मध्ये सबैभन्दा धेरै जनसंङ्ख्या भएको देश भारतमा पनि धार्मिक अतिवादको शक्ति अगाडि आएर सबै किसिमका जनतान्त्रिक शक्तिहरुलाई कुल्चने काम भैरहेको छ । स्वभाविक रुपमा त्यसले नेपाललाई पनि प्रभावित पारिरहेको छ । अर्को कुरा कम्युनिष्ट आन्दोलन भन्ने कुरा कुनै खास देश, क्षेत्र र जाति विशेषमा चलेपनि यसको आयाम भने अन्तराष्ट्रिय नै हुन्छ ।
तपाइले कम्युनिष्ट शक्ति र पार्टी अहिले निकै कमजोर रहेको स्थिति भनेर टिप्पणी गर्नु भो, तर सत्ताको नेतृत्व देखी दुई तिहाई जनमत कम्युनिष्ट पार्टीहरुको वरिपरि छ नि? कसरीे त्यस्तो, निष्कर्ष निकाल्न मिल्छ?
कम्युनिष्ट हुनु भनेको थोरै शब्दमा धेरै कुराको घोषणा गर्नु हो। त्यो भनेको म असमानता मान्दिन, विज्ञानमा विश्वास गर्छु, कुनै अलौकिक भनिएका मान्यता मान्दिन भन्नु हो। कम्युनिस्ट हुनु भनेको लैंगिक असमानता, क्षेत्रिय असमानता विरुद्ध समानतामा आधारित सभ्यता निर्माणको अभियानमा लाग्छु भन्नु पनि हो । त्यसैले कम्युनिष्ट पार्टीलाई लेनिनले भेनगार्ड भनेका हुन् । कम्युनिस्ट पार्टी जो अग्रदस्ता हो, त्यो आफैँ मतदातामा फेरियो भने त्यस भित्रका टाठाबाठा एजेन्टको रुपमा र आम मानिस मतदातामा फेरिए भने यसले प्रतिक्रान्ति रोक्ने कुरा त झनै टाढाको विषय हुन्छ । तपाई अहिलेका स्थानिय तह,पालिकामा हेर्न सक्नुहुन्छ, त्यहाँ भइरहेका इभिल, खराबीहरुसँग लड्ने ताकत पार्टीसँग छ कि छैन? त्यहाँ भैरहेका अनेक गलत कामहरूलाई हाम्रा कम्युनिस्ट इकाइहरुले रोक्न सक्छन कि सक्दैनन? रोक्न संभव छैन किनकी त्यहाँको प्रमुखले रोक्न खोज्ने बित्तिकै चुनावमा साथ दिइरहेका युवाहरु यसैमा छन्, चुनावमा चन्दा दिने मानिसहरू त्यही छन् ।
जति वेला पार्टी सत्तामा थिएन, पार्टीका थोरै गुप्त कमिटीहरू थिए । अहिले जस्तो मेयर, उपमेयर पनि थिएनन् पार्टीसँग तर खराबी विरुद्ध दुई / चार जनाको गुप्त कमिटीले भए पनि एउटा पर्चा फ्याक्न सक्थ्यो, त्यो पनि युद्ध नै हो । आज त्यति गर्नसक्ने अवस्था पनि छैन। यसरी हेर्दा खराब कुराहरु विरद्ध लड्ने र असल कुराहरूको अगुवाइ गर्ने हिसाबले हामी यो भन्दा अगाडिका कालहरूमा बलियो थियौं- पञ्च्यात होस वा बहुदल ? हतियार उठाएको बेला वा नउठाएको बेला बरु त्यो बेला हामी बलियो थियौं। यदि हामी खराबी बिरुद्ध लड्न सक्दैनौं भने त्यसलाई हामी बलियो अवस्थामा छौ भन्न मिल्दैन।
जब कम्युनिष्ट पार्टी आफ्नो आधारभूत वर्गको पक्षमा लड्न, उभिन र हिड्न सक्छ, त्यो बेला उसलाई बलियो भन्न सकिन्छ तर उसले त्यो वर्गको राजनीति लिएको छैन र ती वर्गको हितमा उ लडन सक्तैन भने त्यसलाई कमजोर स्थिति मान्नुपर्छ । पार्टीसँग कति प्रतिशत जनमत छ, छैन त्यो कुरा आधारभूत वर्गको पक्षमा कानून बनाउने, बजेट बनाउने जस्ता कुनै काम नहुने हो भने त्यो ०६४ होस् वा ०८४ त्यसले के फरक पर्छ र!
यहाँले कम्युनिष्ट आन्दोलनका समस्याहरुको त चर्चा गर्नु भो, अब यसको मुख्य कारण ,स्रोत र विकल्पहरू के–के हुन सक्छन् ? यसबारे के भन्नु हुन्छ?
हामीले कुनै क्यान्सर भएको मान्छेमा एकैचोटी क्यान्सर भएको भनेर देख्दैनौं, उसलाई ज्वरो आएको होला वा अरु लक्षणहरु देखिएका होलान्, दुब्लाएको होला वा यस्तै अरु लक्षण देखिन्छन् । त्यो डाइग्नोसिस गर्दै गएपछि मात्रै देखिन्छ। त्यस्तै कम्युनिष्ट पार्टी र आन्दोलनमा पनि खराब लक्षणहरु देखिएका छन् । हामीले हेर्यौं भने संसारकै तेस्रो ठुलो कम्युनिष्ट पार्टी भएको इण्डोनेशियामा अहिले हसिया, हतौडा भएको गन्जी पनि लगाउन मिल्दैन । यस्तो किन भयो, यसको कारण खोतल्न जरुरी छ ।
मार्क्सवादलाई हामी यस कारण विज्ञान मान्छौं कि यसमा निरन्तर परिमार्जन भैरहनु पर्छ। यसले निरन्तर विचारमा विकास गरिरहनु पर्छ । विज्ञान र जीवनका अरु क्षेत्रमा भएका खोज र ज्ञानलाई पनि मार्क्सवादले आफूमा समाहित गर्नुपर्छ। यो दृष्टिले हेर्दा प्रयासहरू त भैरहेकै छन् तर अहिलेको विश्वमा समाजवादी आन्दोलन अगाडि लैजान संगठन कस्तो बनाउने ? हामीले लेनिनवादी संगठनात्मक सिद्धान्तको कुरा गर्छौं तर लेनिनको परिप्रेक्ष्य के हो? उनको अवस्था के थियो ? के अप्ठ्यारा र के कस्ता अनुकूलताहरु थिए? जुन स्थितिमा लेनिनवादी संगठनात्मक सिद्धान्त तयार भएको हो, आज पनि त्यहि सिद्धान्त अपनाउनु पर्छ भन्ने छैन । त्यसमा नयाँ पन खै त ? त्यस्तै राष्ट्रहरुलाई डिफाइल गर्ने सन्दर्भमा जस्तो स्टालिनका रचनालाई उदृध गर्ने गरेको पाइन्छ । त्यसमा त कयौं नयाँ अध्ययन र चीजहरू अगाडी आइसके । राष्ट्रको नयाँ व्याख्या खै त हाम्रो सन्दर्भमा ?

त्यस्तै, विश्वको यो भागमा जात व्यवस्थाको रुपमा रहेको एउटा कलंकको जुन समस्या छ। यसको निदान कसरी गर्ने भन्ने हाम्रो अवधारणा खै त? जनवादी क्रान्ति गर्ने र त्यसपछि सबै समस्याको समाधान भैहाल्छ भनेर पहिला टुङ्ग्याइयो– पुराण र सत्यनारायणको कथामा भने जस्तो गरेर । महिलामाथिको शोषण ,दमन, जातव्यवस्था क्षेत्रिय असन्तुलन यसमा हाम्रो नयाँ व्याख्या छैन नि! नयाँ अध्ययन र विचारका आधारमा आफ्नो समयमा लेनिन, रोजा लक्जम्बर्ग ट्राटस्कीले यी प्रश्नहरुको जसरी जवाफ दिने गरेका थिए, खै त हाम्रो समयका यी सवालहरूको जवाफ ?
एकातिर हामिले डेमोन्क्रेटिक/जनवादी क्रान्ति पुरा भयो पनि भनिरहेका छौं भने अर्को तिर जातव्यवस्थाको नाममा समाजको ठूलो पंक्ति, समाजको, पौरखी वर्ग यस्तो उत्पीडनमा छ, राष्ट्रिय एकता हुन सकेको छैन भने यसलाई पनि विचार गर्न जरूरी छ । जनवादी क्रान्ति भैसक्यो अब समाजवादी क्रान्ति गर्छौं भनेर जो भनिरहेका छौ, त्यो त्यस्तो सजिलो छैन। क्रान्ति एउटा लामो प्रक्रिया हो, कतिपय अंशहरू क्रान्तिको तयारी गर्ने क्रममा पूरा हुदै जान्छन्, कतिपय अंशहरु क्रान्तिको क्रममा पुरा हुँदै जन्छन भने केहि अंशहरु क्रान्ति पछी मात्र पुरा हुन सक्छन् । त्यसैले हाम्रो अहिलेको कम्युनिष्ट पार्टीका प्राथमिकतहरु के–के हुन् त? समाजलाई गोलबद्ध गर्दै समाजलाई पौरखी बनाउन चाहिने चिजहरु के के हुन्, त्यो बारेमा छलफल, चासो र चिन्ता जरुरी छ ।
(तर हाम्रो रोग के भैदियो भने जो नेता भैसकेको छ उसैको नै सबै चिज झोलामा बोकेर कार्यकर्ता हिँड्दा पुग्छ भन्ने जो सोच छ, यो मार्क्सवादी सोच नै होइन । कसैको पनि विलक्षणतामा भर पर्नु भनेको मार्क्सवाद नै होइन ।) विडम्बना के भने हामी नेपालको कम्युनिष्ट आनदोलनमा कसै न कसैको विलक्षणतामा भर पर्न थाल्छौं । लेनिन, माओ र नेपालको सन्दर्भमा बुद्धले गरे जस्तै हाम्रा कार्यक्रम ,विचार र सिद्धान्तको निर्माण गर्दा एउटा मस्यौदा बनाएर आम जनतामा जानुपर्छ र त्यसबाट आएका सुझाव, विचार र निष्कर्षको आधारमा कम्युनिष्ट पार्टी सञ्चालन गर्ने परिपाटी आवश्यक छ । जनताको प्रतिनिधी, प्रतिनिधीहरुको पनि प्रतिनीधि हुदै थोरै नेताहरूले शासन गर्ने प्रणालीले अब पुग्दैन।यो काम लाग्दैन।
कम्युनिष्ट आन्दोलनका सिमा समस्याबारे चर्चा गर्दा हामीले संगठन ,समाजविज्ञान र कार्यशैलीबारे त चर्चा गर्यौ तर मार्क्सवादी दर्शनशास्त्रमा नै केहि अपुर्णता छन भनेर अब बिमर्श गर्ने कि?
माओले भने जस्तै कुनै चिजलाई अलिकति मात्रै समात्नु भनेको नसमात्नु सरह नै हुन्छ। यस्तै अहिले थुप्रै कुराहरू उठाएर छोडिदिनु भनेको पनि भताभुङ्ग पार्नु जस्तै हुन्छ । मार्क्सले प्रतिपादन गरेको जुन थ्योरिटिकल वेश छ, त्यसमा अहिले थुप्रै अध्ययन ,छलफल र बहसहरू भैरहेका छन्, उल्लेखनिय कुरा त के छ भने जहाँ कम्युनिस्ट पार्टीहरू प्रभावशाली छन् त्यहाँ यस्तो कुराहरु/ सृजनात्मक कुराहरु आइरहेका छैनन् तर जहाँ कम्युनिस्ट पार्टीहरु हावी छैन, त्यहाँ अलिअलि भएका कम्युनिष्टहरुले नयाँ–नयाँ कुराहरु गरिरहेका छन् । यो बडो बिडम्बनाको कुरा छ ।
कम्युनिष्टहरुले ख्याल गर्नुपर्ने एउटा कुरा नै क्वश्चन गर्ने कुरा हो। यो विश्व समाजसंग सबैभन्दा बढी क्वश्चन गर्ने प्रतिरोधी मान्छे नै मार्क्स हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । तिनै मार्क्सका उत्तराधिकरीहरु कहाँ प्रश्न नै हुँदैनन । हामी पार्टी बनाउँदै जान्छौें, त्यो बलियो हुँदै गएपछि हामीले आफ्नै पार्टी र नेतासङ्ग कुरा गर्न डराउनु पर्ने, हच्कीनु पर्ने यस्तो किन हुन्छ ? यो मार्क्सको परियोजना त हैन नि ?
मार्क्सले डेभ्लव गरेका जतिपनि चिजजहरु छन् त्यसलाई रिभिजिट गरौँ। यस्तो गर्नुपर्छ , उस्तो गर्नुपर्छ भनेर मार्क्सले त कुनै ब्लुप्रिन्ट नै दिएका छैनन् उहाँहरू आफैले नै हाम्रा सबैकुरा युनिभर्सल हुँदैनन् भनेर कबोल गरेकै कुराहरु हुन। उनले त आन्दोलन गर्दै गएपछि सबै कुराहरु खुल्दै जान्छन भनेका थिए। रोजाले समेत लोनिनलाई यस्तो केन्द्रियतावादी संगठन बनाउन हुदैन, मजदूरहरुले लड्दै गएपछि सिक्दै जान्छन् भनेर आलोचना गरेकी थिइन् । त्यस मानेमा मार्क्सलाई स्वतस्फुर्ततावादी पनि भन्न सक्नुहुन्छ ।
जे होस्, हाम्रो आन्दोलनमा एकदम जुझारु भएर काम गर्ने र बहसमा खुला दिलले आफुलाई लागेका कुराहरु खोतलेर छलफल गर्ने परिवेश बनाउन सकिएन । बनेको छैन । नेकपा बन्दा पनि मेरो आशा के थियो भने अब धेरै साथीहरु जम्मा भइयो, नेपालको कार्यदिशा, विकास, शिक्षाको रणनीति के के हुनसक्छ ,जस्तो देशमा पहाडजस्तै जुन समस्याहरु छन्, तीनको बहसको ढोका खोलिन्छ होला भन्ने आशा थियो। यहाँ, जातव्यवस्था, महिला उत्पीडन, पितृसत्ता, अन्धविश्वास जस्ता जुन पहाडहरू छन्, तिनको बारेमा बहस गर्न र ती विषयलाई समाधान गर्नका लागि उल्लेखित आधारमा अगाडि बढ्न सकिन्छ भन्ने थियो ,त्यो गर्न सकिएन।
अहिले जसरी बाह्य हस्तक्षेप बढेको छ, भू–राजनीतिक चुनौति थपिएका छन्, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताको जुन खाँचो छ, त्यो उद्देश्य पूर्ति गर्ने भनेर समाजवादी मोर्चा बनेको भनिएको छ, यसलाई यहाँले कसरी लिनुहुन्छ? यसको भविष्यबारे के भन्नुहुन्छ?
सामान्यतया फुट्नु भन्दा जुट्ने कुरा नै राम्रो हो। तर अझ डरलाग्ने गरि फुट्ने हो भने अहिले जुट्ने कुरा पनि गलत हुन जान्छ । जुटाई र फुटाईका जुन कुराहरु छन् ती आफ्नो उद्देश्यमा स्पष्ट हुनुपर्छ। कसैले पनि केहि गर्न नसकिरहेको बेला सबैजना एक ठाउँमा आउनु राम्रो कुरा हो। तर एक ठाउँमा जम्मा भएर गर्ने के? भन्ने महत्वपूर्ण कुरा हो। त्यस कारण जब कम्युनिष्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो हुने हो भने कुनै आक्रमाणकारी शक्तिलाई हराउन विकसित भईरहनु पर्दैन । जनता एकतावद्ध र प्रतिरोधी छन् भने कुनैपनि शक्तिलाई पराजित गर्न सकिन्छ। यो पुष्टी भएको कुरा हो। भियतनाम जस्तो देशले अमेरिकालाई हरायो। हामीले विकास गर्न, प्रगति गर्ने भनेको जनताका खुशीका लागि नै हो। हाम्रा जनता एकताबद्ध भए भने, संगठित भए भने जस्तो सुकै प्रकारको परिस्थितिलाई पनि सामना गर्न सकिन्छ ।
भू–राजनीतिबाट उत्पन्न हुने जुन संकटहरु छन् । त्यसलाई हामी सामना गर्न सक्छौं । हामी कमजोर भयौं, अगुवाइ गर्न सकेनौं र उर्जा दिने सहि विचार भएन भने सानो-सानोे अप्ठ्यारोमा पनि खतम हुनेछौं।समाजवादी मोर्चा जुन बनेको छ । यसलाई भू–राजनीतिक चुनौति सामना गर्न यो बनेको हो भन्ने भन्दा पनि कम्युनिष्ट एक ठाँउमा आउनु पर्छ । यहाँ हाम्रो आन्दोलनलाई मार्क्सवादी बनाउनका निम्ती, पार्टीको मार्क्सवादीकरणका निम्त्ती ,पार्टीको क्रान्तिकारीकरणका निम्ती ,काम लाग्ने कार्यदिशा अपनाउनका लागि हामी एक ठाउँमा आउनुपर्छ । हाम्रो कार्यदिशाले पाटीलाई क्रान्तिकरण गर्न सकोस् । यो उद्देश्य सहित गरिएको एकता मात्रै मजबुत र फलदायी हुन सक्छ ।
तर अहिले जो भैरहेको छ, त्यो प्रोपागान्डाको स्तरमा मात्रै छ, समाजवादी मोर्चाको दस्तावेज के हुने, भू–राजनीतिक संकटकै कुरा हो भने पनि त्यसको व्याख्या के हो ? त्यो विषय आउन जरुरी छ । फेरी पनि कुरा के हो भने मार्क्सवादी पार्टी मार्क्सवादी तरिकाले चल्नुपर्छ। जस्तो लेनिनकै पार्टीमा त्यहाँका डायरीहरु हेर्दा, क्रुप्सकाया, बुखारिनहरुले लेखेका सामाग्री हेर्दा के देखिन्छ भने त्यहाँ औला ठड्याएर, कडा–कडा आवाजमा, टेबुलमा जुत्ता ठोकेर छलफल भएको पाइन्छ।
त्यहाँ कोहि लेनिनको अगाडि नतमस्तक भएर यत्रो महान कमरेडले भनिहाल्नु भो भनेर गएको देखिन्न। तर लेनिनको पार्टीमा नै प्रतिभाशाली मान्छेहरु देखिन्छन् ।समस्या आएपछि उनिहरु नै तदारुकताका साथ कसरी जुट्छन् भन्ने कुरा पनि त्यहाँ देख्न सकिन्छ । लेनिनको पार्टीमा एकजना बग्दानोव भन्ने व्यक्ति थिए । कोषिका सम्वन्धी डाक्टर पनि थिए उनि। उनले लेनिनलाई सन् १९१७ को अक्टोबर क्रान्तिलाई वास्तवमा यो त क्रान्ति नै होइन भनेका थिए । पछि यसबारे कसरी जवाफ दिने भनेर पार्टीमा छलफल हुँदै गएपछि ट्राटस्कीलाई यसको अध्ययन गरेर जवाफ दिन भनियो। यसलाई लेनिनवादी स्प्रीट भन्ने गर्छौ, यो कुरा हाम्रो आन्दोलनमा लागू गर्न सकिएन ।
त्यस्तै चिनियाँ पार्टीमा हेर्यौ भने के देखिन्छ भने मेरो कुरा लागु नभएपनि पार्टीको एकताका लागि म पार्टीमा बस्छु भन्ने परम्परा देखिन्छ। ती मान्छेहरू, जसको आलोचना भएको छ, दस्तावेज हेर्दा पनि आफ्नै कमरेडलाई लगेर भिरबाटै लडाएछन् कि जस्तो लाग्छ, तर त्यहाँ कसैलाई पनि केहि गरिएको छैन । उनिहरु सेन्ट्रल कमिटीमा नै छन् । उनिहरुका लाइनहरू हारे, तर ती कमरेडहरु सबै त्यहि छन्। यसरी चीनबाट पनि हामी सिक्न सक्छौ। नेपालमा हाम्रा २२, २५ ओटा कित्ता छन् । त्यसको अर्थ हामीले अल्पमतलाई कदर गर्न पनि नजानेको र अल्पमतले पार्टीको एकता बचाउँदै आफ्ना विचारहरू राख्नुपर्छ भन्ने पनि नजानेको हो कि? जस्तो देखिन्छ ।
देशको परनिर्भरता बढ्दै गइरहकोे छ । व्यापार घाटा, युवा पलायनता लगायतका चुनौतीहरु बढदै गैरहेछन्। एमसीसी पारित गरिएपछि त अझ अमेरिकी हस्तक्षेप थप बढेर गएको देखिन्छ। यसलाई कसरी बुझ्दा सहि होला ?
हामी माओवादीहरूले सबभन्दा गम्भिर रूपमा गरेको भूल के हो भने स्टेटसँग क्वोयसिप र प्रसुयसिप गरि दुई ओटा पाखुराहरू हुन्छन् । हाम्रो बन्दुकतर्फ ध्यान त गयो तर बन्दुकलाई सञ्चालन गर्न राज्यका अङ्गहरूलाई फेर्ने कुरामा ध्यान जान सकेन। अझ अर्कोतिर नेपालको शिक्षा व्यवस्थालाई फेर्न, जनस्वास्थ नीतिहरु फेर्ने प्रयत्न हुन सकेन । त्यतातिर ध्यानै दिएनौं ।
यतिका वर्षमा पाठ्यक्रममा केहि हेरफेर ल्याउन सक्थ्यौ होला। आजपनि पाठ्यक्रमको कुरा गर्ने हो भने मानिसहरुमा धेरै उत्साह आउदैन । हाम्रा पुस्तक, पाठ्यक्रममा देशप्रेम कहीँ छैन । पितृसत्ता गलत चिज हो भनेर आमाको महिमा र महिलाको महत्ता दर्शाउने केहि चिज छन् त त्यहाँ ? मान्छे सबै समान हुन्, जात व्यवस्था भनेको रोग हो भन्ने चिज कहिँ छ त पढाई लेखाइमा ? यो भनेको सोसल सिस्टम प्लस आइडलजी दुइटै कुरा हो । यतापट्टी हाम्रो ध्यान गएन।अहिले पनि प्रोपोगेटिभ नाराको भरमा पोलराइज गर्न खोज्छौँ ।
हामी स्वालम्वन र आत्मनिर्भरताको नीति नल्याउने अनि कहिले अमेरिका, कहिले भारत देखाएर हुँदैन । अमेरिका संसारकै दुश्मन हो । तरपनि आजको विश्व पुँजीवादी व्यवस्थाको लिडर उहि हो । तर इन्टेलेक्चुअल हेजेमोमनी उसको कति बढ्दै गइरहेको छ, त्यो पनि हेरौ न ! कपाल कस्तो कोर्ने भन्दा हलिउडको जस्तो, नाच कसरी नाच्ने भन्दा हलिउडका कलाकारले कसरी नाच्छन् त्यसरी नाच्ने, तिम्रो डेस्टिनेशन कहाँ हो भन्दा अमेरिका जान्छौं भन्ने, सपना र सोच त्यस्तो बोक्ने अनि त्यसको अर्थ के हुन्छ ? त्यसैले सबै मोर्चामा काम गर्नुपर्यो नि त । अमेरिकाको नाकैमुनि भएको क्युबाले आफ्नो शिक्षा नीति, आफ्नो स्वास्थ्य नीति बनाएर आत्मनिर्भर भएर बसीरहेको छ र अमेरिकाको विरोध पनि गरिरहेको छ उसले। त्यति सानो देशले ६० हजार बढी गुरिल्लाहरू बाहिर लड्न पठायो। त्यसैले समाजवादी हुनु, भैरहनु ठूलो कुरा हो ।
अन्तमा देशको सुन्दर भविष्यको प्रतिक्षामा रहेका नयाँ/ युवा पुस्तालाई केहि सन्देश दिनुहुन्छ ?
राजनीतिको स्वभाविक चरित्र बाबुले छोरालाई मुखिया बनाइ दिएको जस्तो हुँदैन । आफैले प्रतिस्थापन गर्नुपर्छ। गलत विचारहरुलाई सहि विचारले ,पुराना विचारलाई नयाँ विचारले, पुरानो पीढिलाई नयाँ पीढिले प्रतिस्थापन गर्नुपर्छ। यदि देशलाई शान्त, समृद्ध र सुखी बनाउने हो भने युवा पीढीले पुरानो पीढीलाई प्रतिस्थापन गनुपर्छ । पुरानो पीढिका विचारका खोटहरुलाई औंल्याएर, राम्रा कुराहरुलाई एप्रिसियट गरेर, संघर्षहरुलाई सलाम गरेर ,कमजोरीहरुलाई निर्ममतापूर्वक आलोचना गरेर युवा पुस्ता अगाडि बढ्नुपर्छ।