गृहमन्त्री र एमालेबिच छलफल, सुन काण्ड जाँचबुझ गर्न उच्चस्तरीय छानबिन समिति बनाउने
काठमाडौं— सुन काण्ड जाँचबुझ गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेका छन्।
गृहमन्त्रालयमा जारी छलफलमा एमाले, माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकहरू रहेको बताइएको छ। सरकार, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत ७ राजनीतिक दलका बीचमा असोज ५ गते सुन काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो।
भदौ ६ गते उच्चस्तरीय समिति बनाउने समझदारीपछि प्रमुख प्रतिपक्षी दल साउन १० गतेदेखि गर्दै आएको संसद्को अवरोध खुलाउन तयार भएको थियो।
साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्ना देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग राखेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेर अभियोजन गरेपछि जाँचबुझ समिति बनाउने गरी भदौ ६ गते सहमति भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा रहेकाले आज मन्त्रिपरिषद्को बैठक बस्दैन। तत्काल उच्चस्तरीय छानबिन समिति बनाउने सम्भावना नरहेको एक मन्त्रीले जानकारी दिए।
एमालेले सरकारले संसद्लाईसमेत जानकारी गराएको विषय कार्यान्वयन नगरे बेइमान ठहरिने बताउँदै आएको छ।
‘आयोगमा कोको रहने, कसरी निर्माण गर्ने र त्यसको कार्यादेश के हुने भनेर समय राखेका थियौं, सरकारले इमान जमानका साथ संसद्मा उभिएर सरकारका उपप्रधानमन्त्रीज्यूले जस्ताको तस्तै विषयवस्तु र सहमति पढ्नु भएको हो। त्यो कार्यान्वयन गर्नुपर्ने हुन्छ। उच्चस्तरीय समिति असोज ५ गते घोषणा हुने छ। घोषणा हुँदैन भने सरकार छलकपटमा, प्रतिपक्षीलाई अनावश्यक हिसाबले गलाउने र संसद्बाट गरेको प्रतिबद्धतालाई पूरा नगर्ने यस तर्फ लानका लागि उद्यत छ र सुन तस्करहरूलाई कुनै न कुनै रूपबाट प्रोटेक्सन गर्न, बचाउन सरकार लागिरहेको छ भन्ने कुरा त्यसले प्रमाणित हुन्छ, त्यतातर्फ मुलुक नजाओस् भन्नका लागि सरकारलाई सचेत गराउन चाहन्छौं,’ एमाले सचेतक बर्तौलाले भने।