देशमा अराजकताको संकेत देखापरेको र यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्नुपर्ने माओवादीको निष्कर्ष
काठमाडौं— सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको सापकोटाको भनाइ थियो ।
‘देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेत देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भट्ठरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रुप लिनसक्छ ।’
आन्दोलनरत राहत शिक्षकसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको पनि उनले जानकारी दिए । प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बैठकको निष्कर्ष सुनाए । सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।