इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे राष्ट्रपतिले राखे चासो

सोमबार, २२ असोज २०८०

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो राखेका छन्।

सोमबार परराष्ट्र मन्त्री एनपी साउदलाई शितल निवास बोलाएर राष्ट्रपति पौडेलले नेपालीहरूको अवस्थाबारे चासो राखेका हुन्।

इजरायलमा रहेका नेपालीहरूलाई उद्धार, स्वदेश फिर्ता, मृतकका परिवारलाई राहत लगायतका विषयमा राष्ट्रपतिले मन्त्री साउदसँग चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

शनिबार हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

साथै राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेका छन्।