चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत छः शोभा ज्ञवाली
काठमाडौं— नेकपा एमालेका सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ ।
‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उनको अनुभव छ । “बुझ्नेलाई त थाहा छ नि, सांसदको कानुन बनाउने प्रमुख भूमिका हो भनेर, तर चुनाव जित्ने बेलामा जनतालाई थुप्रै आश्वासन दिएको हुन्छ”, उनले भनिन्, “सांसदको पूर्ण ध्यान आफ्ना क्षेत्रको विकास निर्माणमा मात्र छ, कानुन बनाउनुपर्ने महत्वपूर्ण काम चाँहि ओझेलमा पर्ने गरेको छ ।” नेपालमा धेरै पहिलादेखि नै यही संस्कार नै बनेकाले पनि जनतालाई पनि विकासकै आशा हुने उनको अनुभव छ ।
“अझै पनि धेरै ग्रामीण बस्तीमा सांसद भन्ने वित्तिकै विकासकै आशा हुन्छ”, उनले थपिन्, “स्वास्थ्य चौकी छैन, कति ठाउँमा छ, औषधि छैन, शिक्षाको अवाव छ, सडक, खानेपानीको धेरै समस्या छन्, त्यो जनप्रतिनिधिले नै पूरा गरोस् भन्ने आशा हुन्छ ।” सांसद ज्ञवालीलाई सबै कुरा एउटा सांसदले विकास गर्न सम्भव पनि नभएको अनुभव छ । सांसद विकास कोष पनि जनतालाई देखाउने कोष मात्रै भएको उनको बुझाइ छ । “योजना दिने तर पैसा नदिनेजस्ता धेरै समस्या हुने गरेको थियो, राज्यकोषको पैसाबाट हो, कोष किन चाहियो विकास गरे भइहाल्छ नि”, उनले भनिन्, “तर अहिले सर्वोच्च अदालतले रोकेको छ, मलाई व्यक्तिगतरुपमा अदालतले रोक लगाएको ठीक लागेको छ, त्यो कोष जरुरी छैन ।”
गुल्मीको रुरु गाउँपालिका–१ मा २०२६ सालमा जन्मिएकी नेत्री ज्ञवालीले एमालेमा भूमिगत भएर बर्दिया र कैलाली पार्टीको काम गरिन् । उनी गुल्मीमा जन्मिए पनि कर्मथलो फरक हुँदा २०४६ सालमा बहुदल आएपछि खुलेर बाहिर आएकी हुन् । उनी बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बर्दियाबाट प्रतिनिधित्व गर्छिन् । समानुपातिकबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
विधायक ज्ञवालीलाई सांसदको काम कानुन निर्माण प्रक्रियामै ध्यान दिनुपर्ने हो भन्ने लागे पनि चुनाव जित्नका लागि जनताका सामु बाटो बनाउने, रोजगारी सिर्जना गर्ने, खानेपानी, शिक्षा स्वास्थ्य आदि पूरा गर्छु भनेर वचन दिएकाले जनताको पीर मर्कामा जानुपर्ने उनको भनाइ छ । उनले भनिन्, “नेपालमा त्यही खालको संस्कार छ, त्यसले गर्दा पनि जनता कानुन बनाउने भन्दा प्राथमिकतामा जनताको समस्या पहिला आउँछ ।”