शेखर कोइरालाको अनुपस्थितिले कांग्रेस कार्यसम्पादन समिति बैठक भयो निष्कर्षविहीन

शुक्रबार, २६ असोज २०८०

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन्।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेका थिए। कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने भएको छ । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो। भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौं,’ उनले भने।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सा‌ंसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन्।

कांग्रेसले कोशी घटनाबारे छलफल गर्न आकस्मिक रूपमा कार्यसम्पादन समिति बैठक बोलाएको थियो।