भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएकै कारण सरकार टिकेको छः देव गुरुङ
काठमाडौं— नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकार टिकेको बताएका छन् ।
जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण भएको बताएका हुन् ।
‘भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन । जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ । यो सरकार कुनै पनि हालतमा टिकाउनु छ’, उनले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन् ।’
उनले जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको बताए । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको छ ।’
अहिले प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको भन्दै उनले विदेशी शक्तिकेन्द्रले सरकार र यसले गरेका जनपक्षीय कामलाई पचाउन नसकेको आरोप समेत लगाए ।