पत्रकारलाई धम्की दिने मेयरलाई कारवाही गर्न पत्रकार महासंघको माग

शनिबार, ४ कार्तिक २०८०

कालिकाेट – नेपाल पत्रकार महासंघले पत्रकार पत्रकार लंकराज धमाकालाई भौतिक आक्रमणको धम्की दिने मेयरलाई कारवाही गर्न माग गरेकाे छ । महासंघ कर्णाली प्रदेशले शनिबार एक विज्ञप्ति जारी गर्दै धमालालाई धम्की दिने रास्काेट नगरपालिका मेयर धर्मराज शाहीलाई कानूनी कारवाही गर्न माग गरेकाे हाे ।

‘नेपाल पत्रकार महासंघ कालिकोटका साधारण सदस्य तथा स्मार्टकर्णाली न्युज डटकमका सम्पादक लंकराज धमालालाइ सञ्चार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर विभिन्न माध्यमबाट दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘रास्कोट नगरपालिकाको सेवा प्रवाह प्रभावकारी नभएको तथा नगरपालिकाको सम्पत्ती संरक्षण नभएको सम्बन्धमा स्थलगत रिपोर्टिङको भिडियो सार्वजनिक भए पछि रास्कोट नगरपालिकाका प्रमूखको सचिवालय तथा उनका आफन्तले सामाजिक सञ्जालमा विभिन्न आक्षेपहरु लगाउँदै गाली गलौज गर्ने, फोन गरेर धम्की दिने र तर्साउने गरेका छन् ।’

महासंघका महासचिव खगेन्द्र भट्टराईद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यममा प्रकाशित समाचारमा असहमती भए वा चित्त नबुझे कानूनी उपचार खोज्ने बाटाहरु हुँदाहुँदै आफ्नो पेशाप्रति कर्तव्यनिष्ट सञ्चारकर्मीमाथि स्थानीय सरकारका प्रमूख र उनको सचिवालयकै व्यक्तिहरुबाट दिइएको धम्कीले महासंघलाई अत्यन्त दुःखी बनाएको उल्लेख छ ।

‘नागरिकहरुको सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने जिम्मेवारीमा रहेको स्थानीय सरकारका प्रमुखबाटै गरिएको यस्ता हर्कतको महासंघ कडा शब्दमा निन्दा गर्दछ । समाचार लेखेको कारण नगरप्रमूखको सचिवालयबाट पत्रकारलाई भौतिक आक्रमणको धम्की दिइनु, त्रास देखाउनु, असुरक्षित महसुस गराउनु अशोभनीय मात्र होइन निन्दनीय बिषय हो ।’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै धम्की दिइने व्यक्तिहरुलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दछ ।’

साथै, महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्बाध रुपमा काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण समेत गराएकाे छ ।