इजराइलद्वारा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वान अस्वीकार

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौँ— इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गरेका छन्।

सोमबार तेल अविभमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै आतंकवादविरुद्ध आत्मसमर्पण नगर्ने बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। ‘गाजामा युद्धविरामको आह्वान गर्नु इजराइललाई हमाससामु आत्मसर्पणका लागि आह्वान गर्नु हो,’ नेतन्याहुले भने, ‘त्यसो गर्नु आतंकवादविरूद्धको आत्मसमर्पण हुनेछ।’

न्युयोर्क टाइम्सका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले हमासविरूद्धको लडाइँमा इजराइललाई समर्थन गर्न आग्रह समेत गरे। गाजामा मारिएका गैरसैनिक नागरिकहरूबारे प्रश्न गर्दा नेतन्याहुले यसको जिम्मेवार पनि हमास रहेको आरोप लगाए। ‘एक जना पनि नागरिक मर्ने थिएनन्,’ उनले भने, ‘नागरिकहरूलाई युद्धग्रस्त क्षेत्र छोड्न हमासले नै रोक्यो।’

इजराइलले गरेको हवाइ आक्रमण र जमिनबाट गरेको आक्रमणबाट गाजामा ८ हजार भन्दा बढी नागरिकहरूको मृत्यु भएको छ। तीमध्ये महिला र बालबालिका बढी छन्। गाजामा मानवीय सहायता पुर्‍याउन त्यहाँ युद्धविराम हुनुपर्ने प्रस्ताव जोर्डनले आइतबार संयुक्त राष्ट्रसंघको महासभामा राखेको थियो। उक्त प्रस्तावमा मतदान हुँदा नेपालसहित १२० राष्ट्रले पक्षमा मत दिएका थिए। अमेरिकासहित १४ मुलुकले विपक्षमा मतदान गर्दा ४५ देश मतदान प्रक्रियामा सहभागी नै भएनन्।

गाजामा युद्धविराम हुनुपर्ने विषय संयुक्त राष्ट्रसंघमा बहुमतले पारित गरेपनि इजराइलले गाजामाथिको आक्रमण रोकेको थिएन। उसले गजामा हवाइ आक्रमणलाई जारी राख्दै जमिनबाट पनि आक्रमण सुरू गरेको थियो। न्युयोर्क टाइम्सका अनुसार इजराइली सैनिकले ‍पूर्व, उत्तरपूर्व र उत्तरपश्चिमी क्षेत्रका जमिनबाट गाजामा प्रवेश गरी आक्रमण गरेका छन्। त्यहाँ इजरायली सेनाका बंकर प्रवेश गरिरहेका फोटो र भिडिओ सार्वजनिक भइरहेका छन्।

अक्टोबर ७ (असोज २०) गते शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको थियो। हमासको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको मिडिया रिपोर्टहरूमा उल्लेख छ। उक्त आक्रमणमा परी १० जना नेपालीले पनि ज्यान गुमाएका छन्।

त्यसयता इजराइलले लगातार गाजामा आक्रमण गरिरहेको छ।