१२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने दलका नेताहरूलाई प्रधानमन्त्रीले बोलाए सिंहदरबारमा

मंगलबार, २१ कार्तिक २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूको बैठक बोलाएका छन्। शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेसम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूलाई बैठकमा बोलाएका हुन्।

संक्रमणकालीन न्याय निरूपणको विषय टुंगो लगाउन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत दलहरूको बैठक बोलाएका हुन्।

बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। सत्ता पक्ष र प्रमुख प्रतिपक्षीलगायत दलबीच कुरा नमिल्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण हुन सकेको छैन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा विचाराधीन छ।

सात राजनीतिक दल र नेकपा माओवादीबीच २०६२ साल मंसिर ७ गते बाह्र बुँदे समझदारी भएको थियो। समझदारी पत्रमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, एमालेका तत्कालीन कार्यवाहक अध्यक्ष अमृतकुमार बोहरा, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का तत्कालीन सभापति शेरबहादुर देउवा, जनमोर्चा नेपालका तत्कालीन अध्यक्ष लिलामणि पोखरेल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल सद्भावना पार्टीका तत्कालीन महामन्त्री राजेन्द्र महतो, संयुक्त बाममोर्चाका तत्कालीन अध्यक्ष नन्दकुमार प्रसाईंले हस्ताक्षर गरेका थिए।