प्राधिकरणले खरिद गरेको टेरामक्स जडानको व्यवस्था कानुन विपरीत

शुक्रबार, १ मंसिर २०८०

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एवं फ्रड कन्ट्रल सिस्टम (टेरामक्स) जडानको व्यवस्था कानुनमै नभएको पाइएको छ ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १३ को ‘छ’ अनुसार दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाइ दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकासअनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि टेरामक्स स्थापना गर्न लागेको भनेको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा १३ को ‘छ’ मा ‘दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने,’ उल्लेख छ । यस्तै टेरामक्स जडानका लागि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने, अनुगमन, नियमन गर्न पाउने अधिकार प्रयोग गरेको भनेको छ ।

एनेको दफा १७ ‘निरीक्षण तथा जाँचबुझ’ सम्बन्धी रहेको छ । दफा १७ को उपदफा (३)मा ‘निरीक्षण वा जाँचबुझको सिलसिलामा प्राधिकरण वा उपदफा (२) बमोजिम तोकिएको निकाय वा व्यक्तिले मागेको जानकारी वा विवरण तथा कागजात उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ,’ भनेर लेखिएको छ ।