नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैनः अर्थमन्त्री
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा.महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताएका हुन् ।
महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको जिकिर गरे । अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे ।
उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौँ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्याएका छौँ । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेका छौँ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायु सम्बन्धि चुनौती भनेको कार्बन उत्सर्जन शून्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौँ । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौँ । कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् । अहिले विद्युतीय सवारी साधनहरूको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शङ्का छैन ।’
मन्त्री महतले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । उनले विकसित देशले उत्सर्जन गरेको कार्बनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उल्लेख गरे ।