उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थितिको अन्त्य गर्नु जरुरी छः प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थितिको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय स्तरको पुस्तक प्रदर्शनीहरूले पठन संस्कृतिको विकास र बौद्धिक चेतना जागरण गर्न तथा सभ्य समाज र संस्कृति निर्माणका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
प्रदर्शनीको सफलताको कामना गर्दै दाहालले भने, ‘यस प्रकारको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्न, देशमा बौद्धिक चेत र जागरण सिर्जना गर्न एवं सभ्य समाज र संस्कृति निर्माणका निम्ति महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु ।’
उनले छिमेकी राष्ट्र तथा अन्य विकसित मुलुकमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीहरू राज्यकै पहलमा समेत गरेको भन्दै नेपालमा राज्य, निजी क्षेत्रका प्रकाशकहरूको संयुक्त आयोजनामा बौद्धिक व्यक्तित्वहरूको सहभागितामा यस्ता कार्यक्रम कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने विषयमा सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको महत्वपूर्ण सरोकारको विषय भएको प्रधानमन्त्रीले बताए ।
उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थी बिदेसिने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरेका उनले युवा उपयोगी शैक्षिक नीति र कार्ययोजना बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नेमा जोड दिए ।
‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरूसँगै बाहिरिँदै गएको छ । त्यसैले पलायन रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
यसो गर्नु आजको भोलि नै सम्भव नहुने तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर ठोस परिणाम हासिल हुन सम्भव हुने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न पहल सुरु गरेको भन्दै अर्थतन्त्र सुधारको प्रयासले केही दिनभित्रै मूर्त रुप लिने दाबी गरे ।
उनले भने, ‘अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न मैले हिजोदेखि गम्भीर गृहकार्य थालेको छु । आज पनि सरकार, निजी क्षेत्र, विकास साझेदारहरु र अर्थविदहरूको संयुक्त बैठक बोलाएको छु । अर्थतन्त्र सुधार्ने सरकारको प्रयासले एकाध दिनमा मूर्त रुप लिन्छ ।’