तनहुँमा भेटीए ७ हजारभन्दा बढी डेंगुका बिरामी
काठमाडौँ – तनहुँमा डेंगुका विरामीको संख्या ७ हजार ९५ पुगेको छ।
केही महिनाअघि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन। डेंगुका विरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ।
तनहुँका १० पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा ५ हजार ७९५ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका अन्य ९ पालिकामा डेंगुका विरामीको संख्या १ हजार ३ सय रहेको छ।
१४ वडा रहेको व्यास नगरपालिकाको वडा नं १ मा १ हजार ५८२ जना, वडा नं २ मा १ हजार ३९२ जना, वडा नं ४ मा १ हजार ३७ जना, वडा नं ३ मा ६५२ जना र वडा नं ५ मा २७२ जना डेंगुका विरामी रहेका छन्।
व्यास नगरपालिकाको वडा नं १० मा २०६ जना, वडा नं ११ मा १७५ जना, वडा नं ६ मा ९६ जना, वडा नं १३ मा ९१ जना, वडा नं ९ मा ८३ जना, वडा नं ७ मा ७९ जना, वडा नं १२ मा ७४ जना, वडा नं १४ मा ३७ जना र वडा नं ८ मा १४ जना डेंगुका विरामी रहेका छन्।