नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउने छौंः मोहनबहादुर बस्नेत
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताएका छन् ।
नेपाल चिकित्सक सङ्घको आयोजनामा आज तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले नर्सिङ तथा प्यारामेडिकल विषय पढ्नका लागि धेरै पैसा देशबाहिर गइसकेकाले विद्यार्थीलाई रोक्नका लागि नेपालमै चिकित्सक विषय पढाउनुपर्ने बताए ।
त्यस्तै मन्त्री बस्नेतले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने बताए । उनले भने, “संविधानमा नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था छ । त्यसैले सरकारी अस्पतालमा १० प्रतिशत छुटसहित गरिब बिरामीलाई पैसाको अभावले उपचारबाट वञ्चित हुन पर्ने छैन ।” त्यस्तै उनले हरेक प्रदेशमा तीनरतीनवटा मेडिकल कलेज खोल्ने व्यवस्था मिलाउन लागेको बताए ।
बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा भएको समस्यालाई सुधार गर्दै लैजानुपर्ने बताए । उनले भने, “बागमती प्रदेश सरकारले पिछडिएको वर्गलाई एक लाख बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।”
त्यस्तै उहाँले काठमाडौँका सबै सरकारी अस्पतालमा निःशुल्क रगतको व्यवस्था गर्न लागेको बताउनुभयो । उक्त शिखर सम्मेलन सोमबारसम्म चल्नेछ ।