प्रदेशसभा सदस्यको बजेट कटौती गरेको भन्दै एमाले मुख्यमन्त्री कार्कीसँग रुष्ट

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं— कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग रिसाएको छ ।

सोमबार प्रदेशसभा बैठकमा बोल्ने एमाले सांसदहरुले योजना कटौती गरेको भन्दै कार्कीको विरोध गरेका थिए । कोशी सरकारका कार्कीले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि प्रदेशसभामा छलफल भइरहेको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता राम रानाले सांसदका योजनामा परेको बजेट र योजनाको प्राथमिकीकरणमा आफूहरुको आपत्ति रहेको बताए । मुख्यमन्त्रीसँग प्रत्येक सांसदले छनोट गरेको योजनाका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन गर्ने सहमति भएकोमा कसैको १ करोडभन्दा कम, कसैको एक करोड र कसैको एक करोड भन्दा केही बढीका योजना मात्र बजेटमा परेको उनले बताए ।

त्यस्तै सांसदले प्राथमिकताका आधारमा छनोट गरेका योजनामध्येबाट मुख्यमन्त्रीले आफूखुशी योजना छनोट गरेकोमा पनि नेता रानाले असहमति जनाए । ‘सांसदले माग पेश गर्नुभयो तर इमानदार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो’ उनले भने, ‘सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।’