एकिकरणपछि बाबुरामलाई दोस्रो वरियता दिने आन्तरिक तयारी
काठमाडौं – नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रो वरियता दिनेबारे छलफल थालेको छ । नेसपासँग पार्टी एकता गर्ने सहमतिपछि बाबुरामलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरियता दिने आन्तरिक तयारी भएको हो ।
अहिले माओवादीमा प्रचण्डपछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् । उनी पार्टीमा वरिष्ठ उपाध्यक्ष छन् । २०७२ सालमा माओवादी छाड्दा प्रचण्डपछिको दोस्रो वरियतामा बाबुराम नै थिए ।
प्रचण्डसँगको तीन दशकको सहकार्य तोडेर हिँडेका बाबुराम अहिले माओवादीसँग जोडिन आएपछि फेरि त्यही स्थान उनलाई दिन प्रचण्ड तयार देखिएका छन् । बाबुरामले कम्युनिष्ट विचारधारादेखि माओवादीलाई भत्केको घरको संज्ञा दिँदै नफर्किने बाचा गरेका थिए ।
माओवादी छाडेपछि नयाँ शक्ति जसपा हुँदै नेसपामा आइपुग्दा पनि पार्टीमा जनआकर्षण गराउन नसकेपछि बाबुराम पुरानै घर फर्किने तयारी गरेका हुन् ।
माओवादीका एक पदाधिकारीले एकतापछि बाबुरामलाई अध्यक्ष प्रचण्डपछिको दोस्रो वरियता दिइने बताए । ती नेताले भने, ‘उहाँलाई वैचारिक क्षेत्रको जिम्मेवारी दिएर सेकेन्ड म्यान बनाउन लागिएको हो ।’
पार्टीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजीको स्थान बाबुरामले लिने ती नेताको दाबी छ । यद्यपि, यस सम्वन्धमा औपचारिक सहमति भइसकेको छैन ।