एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीको आरोप
काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यस्तो खालको सरकारले देश चलाउँछ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’,।
अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको पनि ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएकोउनको भनाइ थियो ।
ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको दाबी समेत गरे । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने ।
देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताए । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उनले स्पष्ट पारे ।