यथास्थिति र प्रतिगमन राजनीतिक समस्याको समाधान होइन : उमा सी ‘शिलु’

सोमबार, २ पौस २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य उमा सी ‘शिलु’ले यथास्थिति र प्रतिगमन राजनीतिक समस्याको समाधान नभएको बताएकी छन् । नेकपा केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै शिलुले अग्रगमन मात्र राजनीतिक समस्याहरुको समाधान भएको बताएकी हुन् ।

उनले यथास्थिति र प्रतिगमन राजनीतिक समस्याको समाधान नभई अग्रगमन नै समाधान हो भन्ने दिशातिर देश पनि गएको बताइन् । अग्रगमनमा जानुपर्छ भन्ने धारको नेतृत्व आफूहरुले गरेका कारण जनताबाट कटाउन अदालतको आडमा साम्राज्यवाद आएको उनको भनाई थियो ।

‘मध्यम वर्ग र देश भक्त जनतासँग एकता गरेर देशलाई युक्रेन बन्नबाट बचाउन सकिन्छ । त्यसका लागि आफ्नो शक्ति सुदृढ गर्नुपर्छ ।’, उनले भनिन्, ‘क्रान्ति र परिवर्तनप्रति विस्वास पैदा हुनुपर्छ। आफ्नो शक्ति सुदृढ नगरेसम्म साम्राज्यवादसँग लड्न सम्भव छैन ।’

पार्टीको शक्ति सुदृढ हुँदै गएको र नेकपासँग ध्रुविकरण बढ्‌दै गएका कारण आफूप्रतिको जनलहर आउन नदिन षड्‌यन्त्र भएको उनको भनाई थियो । बैठकले त्यसप्रकारको षड्‌यन्त्रको जवाफ दिनुपर्नेमा उनको जोड थियो ।