मलाई अझ धेरै भ्रष्टाचार र माफियालाई हान्न मन छ: प्रचण्ड
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् ।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको बताए । उनले भने, ‘यदि माननीय सदस्यहरूले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका विरुद्ध गाली गरेर, अराजकता सृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरूलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरू केही गर्नु छैन ।
मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकाङ्क्षा, मेरो प्रतिबद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ ।