बालकृष्ण खाण छुटेपछि कांग्रेसमा हलचल, प्रचण्ड सरकारको दिनगन्ती सुरु
काठमाडौं – भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटीमा छुटेपछि कांग्रेसमा हलचल आएको छ । यो हलचलले गठबन्धन सरकार फेरबदल हुने निश्चित जस्तै भएको छ ।
८८ सांसद भएको कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै परिवर्तन गर्ने कि तत्कालका लागि मन्त्रिपरिषद्मा फेरबदल गर्ने भन्नेबारेको बहल कांग्रेस चलेको छ । खाण शुक्रबार जिल्ला अदालत काठमाडौँबाट धरौटीमा छुटेपछि कांग्रेसभित्र सरकार परिवर्तनको विषय चर्कोरूपमा उठेको हो ।
सकभर सभापति शेरबहादुर देउवालाई दबाब दिएर सत्ता परिवर्तन गर्न बाध्य बनाउने, देउवा नमानेमा संसदीय दलको नेता नै परिवर्तन गरेर भए पनि अघि बढ्ने निष्कर्षमा नेताहरू पुगेका छन् । खाण छुट्ने संकेत देखेपछि कांग्रेसको इतर समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्न हरसम्भव प्रयास गर्ने र समूहबाट नेता डा. शेखर कोइरालाई अगाडि सार्ने निष्कर्ष निकालेको छ । गत पुसमा भएको संसदीय दलको नेताको निर्वाचनमा देउवाले ६३ र महामन्त्री गगन थापाले २५ मत ल्याएका थिए ।
इतर समूहसँग ३३ सांसद भए पनि थापासँग रूष्ट धेरै सांसद भएकाले उनको पक्षमा २५ मतमात्रै आएको तथा डा. कोइरालालाई संसदीय दलको नेतामा अगाडि सारेमा बढी नै मत आउने आकलनमा सो पक्ष छ । त्यसमा खाणले सहयोग गरेमा बहुमत पुर्याउन सकिने भन्दै डा. कोइरालासहितका नेताहरू खाणलाई फकाउन लागेका छन् । खाण भने पर्ख र हेरको अवस्थामा छन् । निकटस्थहरूका अनुसार खाणसँग कम्तीमा १४ सांसद छन् ।
डा. कोइरालाले प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने सार्वजनिक रूपमै बताइसकेका छन् । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि कोइरालाकै जस्तो अभिव्यक्ति सार्वजनिकरूपमा दिइरहेका छन् । त्यसैले कोइराला संसदीय दलको नेता बनेमा आफ्नो प्रधानमन्त्री पद उड्ने भय प्रधानमन्त्री प्रचण्डमा छ ।
त्यही कुरा बुझेरै उनले आफूलाई पदबाट हटाउन दिनरात भरमग्दुर प्रयास भइरहेको सार्वजनिकरूपमै बताइरहेका छन् । पार्टीका पत्रकारहरूको भ्रातृसंस्था प्रेस सेन्टरको बैठकमा केही दिन अघि प्रधानमन्त्री प्रचण्डले विरोधीहरू सरकार गिराउन दिनरात लागिरहेकाले सरकार कति दिन टिक्छ भन्न सक्ने अवस्था नरहेको बताएका थिए ।
बाहिर त्यस्तो बताए पनि उनी भित्रभित्र भने सबै मन्त्री परिवर्तन गरेर भए पनि आफू टिक्ने रणनीतिमा लागेका छन् । उनले कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धका शीर्ष नेताहरूसँग मन्त्रीहरूको काम सन्तोषजनक नभएको भन्दै सेट नै परिवर्तनको प्रस्ताव गरेका थिए । तर, गृहमन्त्री र अर्थमन्त्रीको विषयमा कुरा नमिलेकाले सबै मन्त्रीहरूको सेट नै परिवर्तन गर्ने विषयमा विलम्ब भइरहेको छ ।
अहिले अर्थमन्त्रीमा कांग्रेसका नेता डा. प्रकाशशरण महत र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा माओवादी नेता नारायणकाजी श्रेष्ठ छन् । अर्थमन्त्री महत असफल भएकोले उनलाई पनि हटाउन कांग्रेसभित्र चर्चा चलिरहेको छ । कांग्रेसले अर्थ र गृह परिवर्तनको प्रस्ताव राखेको छ । प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेसको प्रस्तावमा सहमत छन् तर, गृहमन्त्री श्रेष्ठले नमान्दा रोकिएको स्रोतहरू बताउँछन् । कांग्रेसले आफ्नै पार्टीको समर्थनमा बनेको सरकारले पार्टीकै नेतालाई बिनाकसुर पक्राउ गरेर दुःख दिएको र इमेज खराब गरिदिएको भन्दै गृहमन्त्री श्रेष्ठलाई कुनै पनि हालतमा हटाउनु पर्ने अड्डी लिएको छ ।
प्रचण्डले पार्टीमा गृहमन्त्री श्रेष्ठलाई हटाउँदा आफूलाई अफ्टेरो पर्छ भन्ने बुझाइमा छन् तर कांग्रेस भने श्रेष्ठलाई नहटाउने भए वैकल्पिक बाटो खोज्ने चेतावनी दिएको छ । कांग्रेसको त्यो अडान अब झन बलियो भएको छ । खाणले पार्टीभित्र अझ बढी दबाब मन्त्री श्रेष्ठलाई हटाउन दिनेछन् ।
देउवाले प्रचण्डलाई श्रेष्ठलाई हटाउने दबाब दिन नसकेमा पार्टीमा उनको कुर्सी हल्लिने देखिएको छ । देउवा आफ्नो पद बचाउन जे पनि गर्ने विगतका उनका क्रियाकलाप हेर्दा देखिन्छ । तसर्थ, श्रेष्ठ मन्त्रीबाट नहटे सरकार संकटमा पर्ने देखिन्छ ।
एमालेले १८ दिन गरेको समृद्धि संकल्प यात्राका क्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक कांग्रेसलाई सरकारमा समर्थन गर्न तयार रहेको सार्वजनिक रूपमा बताएपछि डा. कोइराला गुट संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डामा प्रवेश गरेका हुन् । कोशी प्रदेशदेखि कोइराला–ओली गठजोड अहिलेसम्म भित्रीरुपमा एक भएकोले पनि प्रचण्ड सरकारको दिनगन्ती सुरु भएको हो ।