सर्वोच्च अदालतले गर्यो फिल्मी स्टाइलमा फैसला, फैसलाको चौतर्फी प्रसंसा
काठमाडौं – पुस ५ गते बिहीबार सर्वोच्च अदालतले गरेको एउटा पैसलाको चौतर्फी प्रसंसा भइरहेको छ । न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले नावालकको संरक्षकत्वको पैसलाले चौतर्फी प्रसंसा पाएको हो ।
बिहीबार अदालतको २ नं इजलासमा बहल भइरहेको थियो । मुद्दाको बिषय बस्तु, पक्ष बिपक्षबाट कानून ब्यबसायीहरुले प्रस्तुत गर्नु भएको बहस, पेश गरिएका नजिरसमेत निकै चाख मानेर न्यायाधीशले सुनिरहेका थिए । मुद्दाको मुख्य विषय संकास्पद मृत्यु भएकी आफ्नी बिबाहिता छोरीको मृत्युपछि नावालिक १४ महिनाकी नातिनीलाई आफैले संरक्षकत्वमा लिइ पालन पोषण गर्दै आइरहेका मावली हजूरबा हजुरआमाबाट नाबालिक छोरीको संरक्षकत्व छुटाइ आफू संरक्षक बन्न पाउनुपर्ने र छोरी आफैसँग राख्न पाउँ भन्ने बाबुको माग थियो ।
दुबै पक्षको तर्फबाट आएको बहस सुनेपछि न्यायाधीश आनन्दमोहल भट्टराई तथ्य नदोहोर्याइ निष्कर्षमा पुग्न कानून ब्यबसायीहरुलाई अनुरोध गरे । पुनरावेदकको तर्फबाट जवाफी बहस प्रस्तुत गर्ने कानून व्यवसायीले बच्चाको इच्छा पनि बुझ्नु पर्दछ भन्ने माग गरे । बच्चा हाल बेन्च मै मौजुद रहेको हुदा पक्ष बिपक्षको अनुपस्थितिमा कोसँग बस्न चाहन्छिन भन्ने सोधपुछ गरी निष्कर्षमा पुग्न कानून व्यवसायीको माग थियो ।
पुनराबेदकको यस्तो माग सुनेपछि न्यायाधीशद्वयले कानेखुसी गरी दुबै सहमत भएको भाव देखाएर बहसकर्तालाई बहस रोक्न अनुरोध गरे । साथै, उनीहरुले आफूहरूले एउटा प्रयोग गर्ने बताए । खुल्ला इजलासमा नै बहस भएकोले न्यायाधीशले इजलासमा उपस्थित सबैलाई बस्न निर्देशन दिए । साथै, कोहि बाहिर नजाने र नयाँ कसैलाई पनि एकछिन भित्र आउन नदिन कडा सुरक्षाकर्मीलाई निर्देशन दिए ।
न्यायाधीशको यो आदेश र भावले सबैजनामा एकखालको कौतुहलता उत्पन्न भयो । सबै शान्त भएर बसे । न्यायाधीशबाट बच्चीको जैबिक पीता बाबुको हुनुहुन्छ उठ्नुहोस् र छोरीसँग गएर बस्नुहोस् भन्ने निर्देशन आयो । बाबु छोरीको छेउमा जॉदा छोरी अलि असहज मानेर हजूरबा तर्फ सरिन् र बाबुसँग बोलिनन् ।

त्यसपछि न्यायाधीशले अर्को प्रयोग गर्नेभन्दै नानीलाई बेन्चको भित्रीकक्षमा ल्याउन निर्देशन भयो । शुरुमा महिला प्रहरीले लिएर भित्र जान लाग्दा ती नानी डराउने हुनकि भन्ने शंका मान्दै तत्काल बेन्चमा सहयोग गर्ने कर्मचारी (जो तराई मूलका थिए) ले आफ्नो भाषामा कुरा गर्दै भित्र च्याम्बरमा ल्याए । दुबैजना न्यायाधीश पनि भित्र गए ।
बेन्चमा आएपछि न्यायाधीश डा. आनन्द मोहनले भने, ‘यो मुद्दामा यी नानीलाई नै न्यायाधीश बनाउने निर्णय गरेका छौं । छोरी तिमी यता बस ।’ उनले आफ्नो कुर्सीमा ती नानीलाई राखेर सोधे, ‘तिमी को संग बस्ने ?’ ती नानीले आफ्नो भाषामा स्पष्ट जवाफ दिइन, ‘म नाना नानी (मामाघरको हजूरबा र हजूर आमा) सँग बस्ने ।’
यो जबाफ सुनेपछि न्यायाधीशले ती नानीलाई बेन्चको अग्र भागबाटै दर्शक दीर्घामा गएर बस्न आदेश गर्दै ममता पूर्वक सुमसुम्याएर संवेदनशीलताको भाव देखाए । त्यसपछि न्यायाधीशले भने, ‘बेन्चमा बसेर तपाईँहरू सबैले देख्नु भयो । अब यी नानी साबालक नहुॅदासम्म मामाघरमा नै बस्छिन । तल्लो अदालतको फैसला सदर भयो । जानुहोस्, हामी यही फैसला लेख्छौं ।’
न्यायाधीशको यो फैसला नटुङगिदै त्यहाँ भएको गतिबिधि र स्वयंम् न्यायाधीशले देखाएको कृयाकलापले सबैका आंखा रसाइ सकेका थिए। न्यायाधीशहरु पनि मुस्किलले मनोभाव रोकिरहेको जस्तो देखिन्थ्यो । फिल्म जस्तो लाग्ने यो पैसलाले नानीकी मृत आमाले न्याया पाएको भान भएको भन्दै धेरैले यो फैसला र पैसला गर्ने न्यायाधीशको विवेक र तौरतरिकाको प्रशंसा भइरहेको छ ।