प्रधानमन्त्री प्रचण्ड धक्का दिएर म अर्को क्रमभंग गर्दैछु

शुक्रबार, ६ पौस २०८०

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रमभङ्ग गर्दै थप काम सुरू गर्ने बताएका छन् । आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभंग गर्ने तयारीमा रहेको बताएका हुन् ।

शुक्रबार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु । म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।

‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ’

प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताए ।

उनले भने ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घरबस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक काम भइरहेका छन् ।’