आगामी अधिवेशनको पहिलो एजेण्डा टीआरसी विधेयक बनाउन ३ दल सहमत

मंगलबार, १० पौस २०८०

काठमाडौं – सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो ।

बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको जानकारी दिए ।

आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने बताए । सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको उनको भनाइ छ ।

सचेतक बर्तौलाले आफ्नो पार्टीले पीडितलाई केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए ।