साम्राज्यवाद कमजोर हुँदै गएपछि जनताबिरुद्ध सड्यन्त्र सुरु भयो : कृति सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोको २ महिने ‘पार्टी संगठनलाई सुदृढीकरण तथा राज्य सड्यन्त्रको भण्डाफोर अभियान’ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको विशेस बैठकले निर्देशित गरेको योजना कार्यन्वयन र आगामी पार्टीको नीतिसहित पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीको प्रमुख अतिथ्यतामा उपत्यका ब्युरोको २ महिने अभियान उद्घाटन कार्यक्रम भएको हो।
नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवक्ता प्रकाण्डको विशेष प्रशिक्षण रहेको थियो। नेकपाका केन्द्रिय सदस्य विपिन सीको स्वागत मन्तव्यबाट सुरु भएको संगठन सुदृढीकरण तथा राज्य सड्यन्त्रको भण्डाफोर अभियान उद्घाटन कार्यक्रमको समापन गर्दै पोलिट ब्युरो सदस्य कृती सीले पछिल्लो समय नेपालमा साम्राज्यवाद कमजोर हुँदै गएकाले जनताबिरुद्ध सड्यन्त्र गर्न सुरु गरेको बताए । त्यसैको उपज जनताको मुद्धा उठाइरहेको नेकपामाथि पक्राउ पुर्जी जारी गर्न अदालतलाई निर्देशन गरेको जिकिर गरे ।
उनले साम्राज्यवाद, प्रतिक्रियावाद सबैको सड्यन्त्रको केन्द्र उपत्यका भएकाले साम्राज्यवादको सड्यन्त्रको भण्डाफोर गर्न र साम्राज्यवादको दलाल चरित्र जनतामाझ उदाङ्गो पार्न यो अभियान सुरु गरिएको बताए । नेकपाको बढ्दो लोकप्रियताबाट अतालिएर साम्राज्यवादले अदालत मार्फत हामीमाथि सड्यन्त्र गरेको समेत ठोकुवा गरे ।
उनले दलाल संसदीय व्यवस्थाको अन्त्यगरि नेपाली विशेषताको समाजवाद स्थापना गर्न जनताले नेकपालाई विकल्पको रुपमा मानेकाले आफ्नो पार्टीले जनताको आशा मर्न नदिने जिकिर गरे। उनले भने,’समाजवादी सत्ता स्थापनाको लागि हरेक अस्त्र प्रयोग गरिन्छ, त्यो चाहे शान्तिपूर्ण होस् या प्रतिरोध संघर्षबाट होस्।’ रबि लामिछाने लक्षित टिप्पणी गर्दै नेता कृतीले भने, ‘हिले नयाँ उदाएकाहरुले व्यवस्था ठिक छ अबस्था मात्र परिवर्तन गरे पुग्छ भन्दै जनतालाई बेवकुफ बनाएका छन। व्यवस्था ठीक छैन। यसलाई परिबर्तन गर्न हामीले संघर्ष गरिरहेका छौं ।’
उनले भने, ‘अहिले नेपाली जनताको वर्तमान ब्यबस्था प्रतिको वितिष्णाको फाइदा उठाएर क्षणिक आकर्षणमा पारे पनि कालान्तरमा त्यो पानीको फोका साबित हुन्छ, अहिलेको संकटको समाधान भएको नेपाली विशेषताको समाजवाद हो । त्यो नेकपाको नेतृत्वमा मात्र सम्भव छ ।’ संगठनलाई सुदृढीकरण तथा राज्य सड्यन्त्रको भण्डाफोर अभियान उद्घाटन कार्यक्रमको संचालन नेकपाकी केन्द्रिय सदस्य भृकुटी सीले गरेकी थिइन् भने अतिथीका रुपमा पोलिट ब्युरो सदस्य माइला सी, आस्था सी, केन्द्रीय सदस्य बिहानी सी, संजिव सी लगायत बिभिन्न जनवर्गीय संगठनका नेताहरुको आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी प्रकाण्ड सीद्वारा उपत्यका अन्तर्गतका बिभिन्न जिल्ला इन्चार्ज तथा सेक्रेटरिहरुलाई अभियानको झण्डा प्रधान गरिएको थियो।