इक्यानको १८औं बार्षिक साधारणसभा सम्पन्न, झण्डै तीन करोड आम्दानीको लक्ष्य
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको गैह्रिधारास्थित एलिस रिसेप्सनमा इक्यानको बार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । इक्यानले संस्थाको बार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, संगठनात्मक प्रतिवेदन पास गर्दै आगामी एक बर्षको कार्ययोजना पनि पारित गरेको छ ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले आगामी बर्ष झण्डै तीन करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । बार्षिक प्रतिवेदन अनुसार इक्यानले २ करोड ७६ लाख ६५ हजार आम्दानी गर्ने लक्ष्य लिएको छ । इक्यानले यो बर्ष २ करोड २३ लाख १९ हजार ५ सय ८७ रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । प्रतिवेदन अनुसार इक्यानले यो बर्ष ५३ लाख ४५ हजार ४ सय १४ रुपैयाँ खुद नाफा आर्जन गर्ने बताइएको छ ।
१८औं बार्षिक साधारणसभामा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले विदेश पालयल रोकेर नरोकी बताए । ‘हामीले अध्ययनका लागि विदेश जाने ट्रेन रोकेर रोकिदैन । विदेश जान रोक्नलाई एपोर्टमा रोक्नुपर्यो, प्लेनको ढोका थुनेर रोकिने होइन् । सीमा नाकामा रोक्नुपर्यो । यो रोकेर रोकिने विषय होइन ।’, कार्याक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकारीले भने, ‘पलायन रोक्नलाई नेपालको शिक्षा प्रणालीमा परिवर्तन ल्याउनु पर्यो, समयमै परिक्षा लिएर समयमै रिजल्ट निकाल्नुपर्यो । नेपालका शैक्षिक संस्थाहरुको स्तर बृद्धि गर्नुपर्यो रोजगारी श्रृजना गर्नुपर्यो ।’
उनले नेपाली विद्यार्थीहरु विदेशमा गुणस्तरिय शिक्षाका लागि मात्र गएका हुन् भन्ने विषय गलत भएको जिकिर गरे । ‘नेपालमा राम्रो शैक्षिक संस्था नभएर नेपाली विद्यार्थीहरु विदेशीएका होइनन् । नेपालमा पनि विदेशी गुणस्तरका शैक्षिक संस्था छन् ।’, उनले भने, ‘नेपालबाट विद्यार्थी पढ्नमात्र होइन्, आफ्नो जीवनशैली परिवर्तन गर्न पनि विदेशिन्छन् ।’ उनले विदेश अध्ययनका लागि नेपालमा शैक्षिक कन्सल्टेन्सीहरुको निकै नै आवश्यक भएको बताए ।
कार्यक्रममा महानायक राजेश हमाल, इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बराल, प्रकाश पाण्डे, विष्णुहरी पाण्डे दिपक गुरुङ लगायतको अतिथ्यता रहेको थियो । महासचिव दीपकराज भुसालले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेलले उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत गरेका थिए ।
