विदामा नबस्ने प्रहरी जवानलाई हाकिमले गरे कारवाही

बिहिबार, ४ माघ २०८०

काठमाडौं – विदामा नबस्ने प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय, खोटाङले कारवाही गरेको छ । जिप्रका खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेर कारवाही गरेको हो ।

प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले किन कुनै किसिमको विदामा नभएको भन्दै खोटाङ प्रहरीले ५ जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेको हो । जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार, सुविधा अनुसार विदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले विदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।

‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, विदा बस्नलाई प्रोत्साहित गर्न खाजेका हौं’, खड्काले भने, ‘घर विदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’

प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् । ‘कतिपय विदा त प्रहरीले लिनै पाउँदैनन्, लामो समयसम्म काममा मात्र भइरहँदा गुणस्तरीय सेवा प्रवाहमा पनि असर गर्नसक्छ । त्यसैले विदा जान प्रात्साहन गर्न खोजेका छौं’, उनले भने ।

स्पष्टीकरणको सम्बन्धित अधिकारीहरुले जवाफ पनि दिइसकेको खड्काले बताए । ‘कतिले लामो विदा जानलाई नलिएको भन्नुभएको छ, कसैले माघमा लिने भन्नुभएको छ, कतिपयले काम नपरेकाले भन्नुभएको छ’, खड्काले भने ।