वर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवादमा छ – नेता सन्जिव सी

शनिबार, २० माघ २०८०

प्यूठान – बर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विषेशताको समाजवाद भएको नेकपाका नेता सन्जिव सीले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वीप्यूठान द्धारा शुक्रवार सदरमुकाम खलंगामा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्जिव सीले अहिले देशमा दलाल पुजिवादी व्यवस्था रहेकोले अव त्यसको ठाउँमा नेपालीमाटो सुहाउँदो नेपाली विषेशताको समाजवादी व्यवस्था नै एकमात्र विकल्प रहेको बताए । नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्बाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गास,बास,कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने नेता सीले बताए ।

उनले पछिल्लो समय निक्कै चर्चामा रहेको राष्ट्रघाती एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्न पनि सबैलाई आग्रह गरे । कार्यक्रममा “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र नेकपा पुर्वी प्यूठानका सचिवालय सदस्य बिरवल सी ले प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणा पत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखी यता विभिन्न समयमा भारतसंग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजिविकाको संकट,वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विषेशताको समाजवाद लगायतका विषयहरु समेटिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले कम्यूनिष्ट पार्टी टुटफुट र विभाजन मार्फत छिन्नभिन्न भएकोले सबै वामपन्थी, देशभक्ती तथा कम्यूनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने सुझाव दिदैं बर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान भनेको दलाल पुँजिवादी चरित्रको व्यवस्था खारेज गरी नेपाली विषेशताको समाजवाद नै रहेको विषयमा जोड दिएका थिए । कार्यक्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल प्यूठानका इन्चार्ज टिकाराम पौडेल,नेकपा एमाले प्यूठानका प्रतिनिधि रामचन्द्र के.सी.,नागरिक अभियन्ता सुमन सुवेदी, बास नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष जुमान सिंह के.सी.र प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनाल लगायतले प्रस्तुत अवधारणापत्रमाथी टिप्पणी तथा विचार मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा पश्चिम प्यूठानका सेक्रेटरी परिवर्तन सी, नेकपा प्यूठानका पुर्व सेक्रेटरी तथा विषेश कमिटि सदस्य केशव सी, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपाका केन्द्रिय सदस्य तथा प्युठान इन्चार्ज जागृति सी को अध्यक्षता, नेकपा पुर्वी प्यूठानका सेक्रेटरी मुस्कान सी को सन्चालन र जिल्ला सचिवालय सदस्य उमाराम सी को स्वागत मनतव्य संगै सम्पन्न भएको थियो ।