फागुन ६ गतेदेखि प्रतिनिधिसभामा ई–हाजिरी

बिहिबार, २५ माघ २०८०

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सकेको छ । संसद् भवनमा विभिन्न ठाउँमा झन्डै ८ वटा हाजिरी मेसिन राखिने, ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउने र वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

विद्युतीय हाजिरी मेसिनमा सांसदहरूको औँठा छाप, आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ । सचिवालयका प्रवक्ता गिरीले भने– ‘प्रतिनिधिसभाका माननीयहरूको विद्युतीय हाजिरी लिने प्रणालीको प्राविधिक पक्षमा काम भइरहेको छ ।

सम्भवतः संसद्को अर्को बैठकबाट विद्युतीय हाजिरी लिने प्रणाली सुरु गर्ने प्रयास गरिरहेका छौँ । हाजिरी मेसिन धेरै भएकोले सफ्टवेयर प्रणालीमा हाजिरीलाई एकीकृत गर्ने र वेब प्रणालीमा लिङ्क गर्ने प्रणालीमा काम भइरहेको छ । फागुन ६ गतेको बैठकसम्म सक्ने तयारी छ, ६ गतेसम्म सकिएन भने १० गतेको बैठकसम्म यो प्रणाली सुरु गर्ने लक्ष्य लिएका छौँ ।’

प्राविधिक कारणले गर्दा केही ढिलाइ भएको उनले बताए ।