गगन थापाले प्रचण्डलाई लगाए गम्भीर आरोप

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नियत खराव भएको आरोप लगाएका छन् ।

सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भन्दै खराव नियतकासाथ जनतालाई झुक्याउने काम गरेको गम्भीर आरोप लगाएका हुन् ।

विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको उनले सोमबार बताए ।‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ ।

विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । तर अहिले हतारहतार सिफारिस भएर जुन नाम आएका छन् यसबाट स्पष्ट के भयो भने पहिलेजस्तै यसलाई भागबण्डामा लगेर टुंग्याउने काम हुँदैछ’, उनले भने, ‘सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्युलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो ।’