भत्कियो सत्ता गठबन्धन, कांग्रेसको रुवाबासी सुरु
काठमाडौं – अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेपाली कांग्रेससहितको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्किएको हो ।
नेताहरुका अनुसार, आजै एमालेसहितको मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ । प्रचण्डकै नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको हो । भेटमा नयाँ सहमति जुटेको कुरा नै भन्नु हुन्छ होला’, स्रोतले भन्यो ।
पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेपछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।
गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका नेताहरुको रुवाबासी सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । विकसित राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले पदाधिकारी र पुर्व पधाधिकारीको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपासहितका दलहरुसँग नयाँ गठबन्धन बनाउने सहमति गरेपछि काँग्रेसको बैठक बस्न लागेको हो । कांग्रेसको बैठक विहान १० बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।