माधव नेपाल फुरुङ्ङ हुने ओलीले टेलिफोनबाटै दिए यस्तो वचन

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फुरुङ्ङ पार्नेगरी टेलिफोन गरेका छन् । अस्वस्थ भएर केही दिनदेखि आफ्नै निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेर फुरुङ्ङ पारेका हुन् ।

ओलदीले फोन गर्दै नेपालको स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । उनले नेपाललाई टेलिफोन गरी प्रधानमन्त्री प्रचण्ड भेट्न आउँदै गरेको भन्दै अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताएका थिए ।

ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

विगतमा ओली–प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेयता उनीहरुबीच सौहार्दता कायम हुन सकेको छैन । यसअघि प्रचण्ड–देउवासहित गठबन्धनमा रहेको एकीकृत समाजवादी र एमालेबीच अब नयाँ सत्ता गठबन्धन निर्माणसँगै कस्तो सम्बन्ध कायम रहला भन्ने जिज्ञासाबीच नेपाललाई ओलीको फोन गएको हो ।

पुनले भने, ‘उहाँहरुबीच पार्टी फुट्दा केही तिक्तता पक्कै भएका होलान् । तर यो सहकार्यमा हामी सँगै हुन्छौं ।’ पुनले एमाले, एकीकृत समाजवादी सहितकै सहकार्यको पक्षमा आफूहरु रहने बताए । ओली टेलिफोन र प्रचण्डले निवासमा आए भेटेपछि नेपाल फुरुङ्ङ भएका छन् । पार्टीको आगामी बैठकमा नेपालले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्नेछन् ।