निर्वतमान अर्थमन्त्री महतको स्पष्टीकरणपछि खुल्यो प्रचण्डको पोल

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं – निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कारणले सरकार र गठबन्धन नटुटेको स्पष्टीकरण दिएका छन् । मंगलबार बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको संवादमा उनले आफूहरूले राम्रो काम गर्दागर्दै प्रधानमन्त्री प्रचण्डले धोका दिएको स्पष्टिकरण दिएका हुन् ।

अर्थतन्त्रमा लयमा ल्याउँदै गर्दा लगानी सम्मेलन र विश्व बैंकको सम्मेलनको मुखमा प्रचण्डले धोका दिएर नयाँ गठबन्धन बनाएको महतको भनाइ छ । “मैले मन्त्रिपरिषद्को निर्णय रोक्ने भन्ने कुरा छैन । तर, सरकारमा बसेर उपयुक्त हो/होइन, के सही हो/हैन भन्ने कुरा राखिन्छ । आर्थिक दायित्वको विषयलाई नकार्ने कुरा छैन । जेजे विषय आएका थिए, त्यो विषयमा यर्थाथमा के उपयुक्त र कानुनसम्मत छ किरछैन भन्ने स्पष्ट ढंगबाट रोखको थिएँ,” उनले भने ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले आफ्नो पार्टीबाट गएका मन्त्रीहरूले इमान्दार भएर काम गरेको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कपोकल्पित दाबी गरेर गठबन्धन फेरिएको स्पष्टीकरण दिएको भन्दै उनले ती दाबी कांग्रेस बैठकले खारेज गरेको बताए ।

“उहाँको निर्णयले थप अस्थिरता अन्योललाई बढावा दिएको छ । अर्थतन्त्रमा सुधारोन्मुख थियो, त्यसलाई पनि समस्यामा पुर्‍याएको ठहर छ । हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “अन्तिम समयसम्म गठबन्धन जारी रहन्छ, कुनै समस्या छैन भनेर अनि गठबन्धन रहेन भनेर निष्कर्षमा पुग्नुभएको छ । उहाँहरू यो वैकल्पिक गठबन्धन निर्माणमा सक्रिय हुनुहुन्थ्यो, जुन विश्वासको जगमा काम गर्न खोजेका थियौँ, त्यसलाई विश्वासघात गर्दै निर्णयमा पुग्नभयो । यो पहिलोपटक होइन, दोस्रोपटक घटना भएको अवस्थामा सँगै रहने अवस्था कुरै भएन ।”

उनले आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गरेको पनि जिकिर गरे । हरेक विषयमा छलफल गर्दा प्रधानमन्त्रीलाई जानकारी नदिएको दाबी सत्य नभएको उनको भनाइ छ । “हरेक छलफल भएको छ, निष्कर्ष निकालेर काम भएको छ, देश र जनताको पक्षमा बसेर काम गरेका छौँ । जे आएका छन्, कपोकल्पित र बहानाबाजी हो,” उनले भने ।