आफुलाई चलाउन खोजे प्रदेशसभा नै विघटन गरिदिने मुख्यमन्त्री कार्कीको चेतावनी
काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार परिवर्तन गर्न खोजे प्रदेशसभा नै बिघटन गर्ने चेतावनी दिएका छन्।
मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै आफु नेतृत्वको सरकार हटाउन खोजे प्रदेशसभा बिघटन गर्ने चेतावनी दिएका हुन्।
सञ्चार माध्यामलाई प्रतिक्रिया दिंदै कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले यसले अंकगणित नहेर्ने बताए ।
उनले भने, ‘सरकारमा बस्नेहरु बसिरहनु हुन्छ । बस्नु भएन भने कांग्रेसको मात्रै सरकार बन्छ । यो संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार हो । यसले अंकगणित हेर्दैन।अविश्वासको प्रस्ताव ल्याउने प्रावधान संविधानमा छ । त्यसबेलासम्म सरकार टिक्छ, जुनबेला अविश्वासको प्रस्ताव ल्याउने समय हुन्छ, त्यसबेला सरकारभन्दा पनि संसद टिक्ने कि नटिक्ने भन्ने कुरा आउँछ ।’
संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको उनको जिकिर छ । ‘संघ र प्रदेश फरक ढङ्गले चल्छ । अरु प्रदेश र यो प्रदेशको प्रकृति पनि फरक छ । हरेक समीकरणले हरेक सरकारलाई असर गर्छ भन्ने पनि हुँदैन,’ उनले भने, ‘अहिलेको परिस्थिति संघको जुन छ, त्यसले कोशी प्रदेशमा सरकारलाई छुँदैन ।’ दलहरुको अंकको हिसाबकिताबले कोशीलाई नछुने उनले प्रस्ट पारे ।
कोशी प्रदेशका हालका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार गठन गर्ने कसरतमा एमालेलगायतका दलहरु लागिरहेका छन् ।