राष्ट्रियसभा अध्यक्षमा काँग्रेस र गठबन्धन उम्मेदवारमा को बलियो, यस्तो छ अङ्कगणित
काठमाडौं – राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सङ्घीय संसद् सचिवालयले अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
निर्वाचन कार्यालिकाअनुसार मङ्गलबार मत विभाजन प्रक्रियाअनुसार अध्यक्ष छानिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
नारायण- युवराजबीचको प्रतिस्पर्धा सत्ता गठबन्धन भर्सेस नेपाली कांग्रेस हो । अरु साना दलहरूले के गर्छन्, निर्णय गरिसकेका छैनन् । त्यसो त उनीहरू निर्णायक बन्ने अवस्था पनि छैन ।
सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) छन् ।
गठबन्धनमा रहेका दलहरूमध्ये माओवादीसँग १६, एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग ३ सदस्य छन् । यसअनुसार नारायणको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छ । ५८ सदस्यीय राष्ट्रियसभा ( सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी( मा अध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा नारायणको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।
तर, ८ सिट भएको एकीकृत समाजवादीले भने सर्त राखेको छ । एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका मागहरूका सम्बन्धमा लिखित सहमति गर्नुपर्ने माग गरेका छन् ।