सुनको सिक्री नपाएको झोकमा एक सरकारी कर्मचारी विवाह मण्डपबाट टाप
काठमाडौं – दाइजोमा सुनको सिक्री नपाएपछि विवाह मण्डपबाट बेहुला उमेश साह टाप कसेका छन् ।
बाराको कलैया उपमहानगरपालिका–४ स्थायी ठेगाना भएका साहको पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाट स्थायी ठेगाना भएकी सीता (परिवर्तित नाम) सँग सोमबार विवाह थियो ।
सो विवाहको क्रममा विवाह मण्डपमै उमेशले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । सो क्रममा विवाद भएको थियो । बेहुलाले विवाद गरी जन्ती फर्काउने क्रममा प्रहरीले उमेशसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सरकारी कर्मचारी हुन् । उनी कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । दाइजोमा नगद १२ लाख, मोटरसाइकल (नगद ३ लाख २५ हजार), एक थान ल्यापटप, एक थान सुनको औठी, हनुमानको माला र सुनको सिक्री सहमति भएको थियो । सहमतिबमोजिम सुनको सिक्रीबाहेक अन्य सबै दाइजोमा दिइएको बताइएको छ ।